काठमाडौँ, साउन १६ । काठमाडौँको मध्यबानेश्वरमा करिब १० आना जग्गामा बनेका घर टहरा तत्काल नभत्काउन उच्च अदालत पाटनले अल्पकालीन आदेश दिएको छ ।
मध्यबानेश्वरको ह्वाइट हाउस कलेजसँगै सतिशाल मार्गमा रहेको सार्वजनिक जग्गामा बनाइएका घरटहरा नभत्काउन अदालतले आदेश दिएको हो ।
काठमाडौँ महानगरपालिकालाई विपक्षी बनाएर आफ्नो जग्गा दाबी गर्दै आएका विश्वनाथ आचार्यले उच्च अदालत पाटनमा दायर गरेकाे रिट उपर न्यायाधीश दीपेन्द्र अधिकारीको एकल इजलासले उक्त रिटमाथि अल्पकालीन आदेश जारी गरेका हुन् ।
सो अवधिसम्म निवेदकले उल्लेख गरेका घरटहरा यथास्थितिमा राख्न अदालतले मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा १५८ को ९२०को ‘क’ र उच्च अदालत नियमावली, २०७३ को नियम ४‘क’ बमोजिम अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो । कित्ता नं ६८ को जग्गामा मुद्दा परी दुई तहबाट फैसला भएको थियो । त्यसविरुद्ध सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेको छ । साउन २१ छलफलको लागि अर्को पेशी तोकिएको छ ।
