हतियार सहित पक्राउ परेका लामालाई स्थानीयले हतकडीसहित भगाए

रिपोर्ट नेपाल | 2023 Aug 01 | 03:12 pm 6805

बारा, साउन १६ । हतियार लुकाएर राखेकोआशंकामा पक्राउ परेका सागर लामालाई प्रहरी चाैकीमा लैजान नदिन जितपुर सिमरा–१६ टांगियाबस्तीमा स्थानीय र प्रहरीबीच दाेहाेराे भिडन्त भएको छ ।

१५ जनाको संख्यामा रहेकाे प्रहरी टोलीमाथि पुरै गाउँ उठेर  ढुंगामुढा गरी हतियारसहित पक्राउ परेका लामालाई हतकडीसहित भगाउन स्थानीय सफल भएका छन् ।

भिडन्तमा प्रहरी  वरिष्ठ नायब निरीक्षक कलमबहादुर शाही र प्रहरी सहायक निरीक्षक बालराज गिरी घाइते भएका छन् । शाहीको बायाँ हातमा चोट लागेर घाइते बनेका छन् भने गिरीको  बायाँ हातमा चोट लागेर घाइते भएका हुन् ।

प्रहरीविरुद्ध स्थानीय खनिएपछि प्रहरीले ५ राउन्ड हवाई फायरसमेत गरेको छ । ठुला हतियार रहेको गोप्य सूचनाका आधारमा निजको घरमा छापा मार्न प्रहरी निरीक्षक घनश्याम श्रेष्ठको नेतृत्वमा १५ जनाको टोली लामाको घरमा बिहानै पुगेको थियो ।

छापामारीपछि लोड भएको भरुवा बन्दुकसहित पक्राउ परेका लामालाई वडा सदस्यको रोहबरमा मुचुल्का बनाएर लैजाने क्रममा जंगल छेउ बाटोमा दोहोरो भिडन्त भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रमुख प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले बताए ।

लामा वन्यजन्तुको शिकारीमा संलग्न रहेको जनाउँदै खोजी भइरहेको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.