काठमाडौं, साउन ५ । सशस्त्र प्रहरी र राजश्व अनुुसन्धान कार्यालयको संयुक्त टोलीले करीब १ करोड ८४ लाख ५१ हजार १ सय ९२ रुपैयाँ बराबरको जुत्ता र गार्मेन्टको सामानसहितको दुईवटा ट्रक नियन्त्रणमा लिएको छ ।
सुनसरीको कोशी गाउँपालिका ८ स्थित पूर्व–पश्चिम लोकमार्गबाट प्रस्तावित सीमा सुरक्षा गुल्म हरिपुर र राजश्व अनुुसन्धान कार्यालय ईटहरीले ना ५ ख ४३१ नम्वरको कन्टेनर ट्रक नियन्त्रणमा लिएको हो ।
यसैगरी सुुनसरीको कोशी गाउँपालिका ३ जमुवा चोकस्थित पूर्व–पश्चिम लोकमार्गबाट बिओपी श्रीपुुर र राजश्व अनुुसन्धान कार्यालयले जुत्ता र गार्मेन्टको सामानसहितको ना ३ ख ४५७९ नम्वरको कन्टेनर ट्रक नियन्त्रणमा लिएको छ ।
विशेष सूचनाको आधारमा मोरङबाट काठमाण्डौंतर्फ आउदै गरेको उल्लेखित ट्रकहरुमा जाँच गर्दा प्रज्ञापनपत्रमा उल्लेख भएको भन्दा बढी सामान फेला परेपछि नियन्त्रणमा लिई आवश्यक अनुुसन्धानको लागि राजश्व अनुुसन्धान कार्यालय ईटहरीमा बुझाईएको सशस्त्र प्रहरी निरीक्षक दिल कुमार श्रेष्ठले जनाएका छन् ।
यसैगरी पर्साको बीरगंज महानगरपालिका १६ स्थित भन्सार गेटबाट सशस्त्र प्रहरीले करीब २ लाख ४ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ । भारतबाट नेपालतर्फ ल्याउदै गरेको लत्ताकपडा, मोवाईल पार्टस्, हार्डवेयर तथा किराना सामान प्रस्तावित सीमा सुरक्षा गुल्म बीरगंजले बरामद गरेको हो । बरामद सामान भन्सार कार्यालय बीरगंजमा बुझाईएको सशस्त्र प्रहरीले जनाएको छ ।