कतारमा विदेशीलाई पीआर दिने प्रक्रिया अन्तिम चरणमा, नेपालीलार्इ यस्तो फाइदा

रिपोर्ट नेपाल | 2018 Jun 01 | 10:06 am 4302

काठमाडौं १८ जेठ। कतारका मन्त्रिपरिषद्ले आफ्नो देशमा भएका विदेशी आप्रवासीहरूलाई पीआर उपलब्ध गराउने कानून पारित गरेका छन् । गत सोमबार कतारका सरकारले पीआरसम्बन्धी कानूनको मस्यौदा पारित गरेको हो ।

कतार न्यूज एजेन्सीले जनाएअनुसार, राज्यलाई आवश्यक पर्ने विशेष पेशामा आबद्ध विदेशी कर्मचारीका साथै अन्य प्रतिभावान् व्यक्तिलार्इ पीआर उपलब्ध गराइने व्यवस्था उक्त कानुनमा रहेको छ ।यस व्यवस्थाले कतारमा विदेशी जनशक्त मात्रै आकर्षित हुने नभर्इ लगानी समेत भित्रिने अपेक्षा गरिएको छ ।

विदेशीलाई पीआर दिनेसम्बन्धी कानून अब औपचारिक रूपमा लागू हुन १ चरण मात्रै बाँकी रहेको एजेन्सीले समाचारमा जनाइएको छ । त्यहाँका अमिर ९राजा० शेख तमिम बिन हमाद अल थानीले यसमा हस्ताक्षर गरेसँगै पीआरसम्बन्धी कानुनले मान्यता पाउने र अनि मात्र आवश्यक कार्यान्वनका पक्रिया सुरू हुनेछ ।

के-के हुनेछ सुविधा ?

आप्रवासी नागरिकले कतारमा पीआर पाउन सके आफ्नै स्वामित्वमा सम्पत्ति राख्न पाउनेछन् । साथै स्थानीय साझेदारविना नै निश्चित प्रकारका व्यावसायिक गतिविधि गर्न र स्थायी रूपमा बसोबास गर्न पाउनेछन् ।

पीआर पाउने विदेशीले कतारमा शेयर कारोबार समेत गर्न पाउनेछन् । यसका साथै शिक्षा, स्वास्थ्य, उपचार लगायतका सुविधामा पीआरधारी विदेशीलार्इ कतारी नागरिकसरह नै समान अधिकार र व्यवहार हुनेछ ।

यसरी पीआर सुविधा दिने कतार पहिलो खाडी मुलुक हुनेछ । कतारले गतवर्ष नै छिमेकी मुलुकले आर्थिक नाकाबन्दी सुरू गर्दैताका आप्रवासीलाई पीआर दिने घोषणा गरेको थियो ।

चार लाख नेपालीलार्इ के फाइदा ?

कतारमा ठूलो संख्यामा आप्रवासी रहेका छन् । त्यहाँको आप्रवासी जनसङ्ख्यामा नेपालीको अंश दोस्रो स्थानमा पर्छ । हाल कतारको कुल जनसङ्ख्याको साढे १३ प्रतिशत अर्थात् झण्डै ४ लाखको हाराहारीमा नेपालीहरू कतारमा विभिन्न कामले बसोबास गरिरहेको बताइन्छ । कतारको कुल जनसङ्ख्या २७ लाख आसपास छ । त्यहाँको ९० प्रतिशत जनसङ्ख्या आप्रवासीले भरिएको छ भने १० प्रतिशत मात्रै रैथाने छन् ।

वैदेशिक रोजगारीमा ठूलो संख्यामा कतार पुग्ने नेपालीहरूको क्रम रोकिएको छैन । बन्न लागेको पीआरको व्यवस्थाले सबै नेपालीलार्इ फाइदा भने हुने छैन । तर आवश्यक विशेषज्ञ पद र तोकिएका पेशामा आबद्ध नेपालीले भने सजिलै पीआर पाउन सक्ने बाटो खुल्नेछ ।

हाल कतारमा मजदुरी गर्न पुगेका नेपाली मात्रै छैनन्, व्यवसायीदेखि त्यहाँको प्रशासकीय क्षेत्रमा काम गरिरहेका नेपाली पनि थुप्रै रहेका छन् । इञ्जिनीयरिङ, एकाउण्ट, होटललगायत क्षेत्रमा काम गरिरहेका र अन्य प्रतिभाशाली नेपालीहरू पीआरबाट प्रत्यक्ष लाभान्वित हुने बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.