विश्वस्तरीय सेवा दिन प्रदेश २ मा क्यान्सर अस्पताल बन्दै

रिपोर्ट नेपाल | 2018 Aug 19 | 12:51 pm 3911

महोत्तरी, भाद्र ३: प्रदेश २ मा ५० शैय्याको नाफारहित क्यान्सर अस्पताल खुल्ने भएको छ। रामगोपाल नगरपालिकाद्वारा प्रदान गरिएको ४ विघा जग्गामा ‘विनयतारा फाउन्डेसन क्यान्सर सेन्टर’खोल्न लागेको हो । यो यस प्रदेशको पहिलो क्यान्सर अस्पताल हुनेछ ।

यस अस्पतालबाट मुलुकभित्रकाले मात्र नभई विहार, उत्तरप्रदेश, पश्चिम वंगालका केहि भागका विरामीलेसमेत सेवा पाउने छन्। यो क्यान्सर सेन्टर विनयतारा क्यान्सर ट्रष्ट नेपाल, विनयतारा फाउन्डेसन, युएसए र रामगोपालपुर नगरपालिकाले मिलेर बनाउन लागेको हो।

तीन वटै पक्षवीच अस्पताल सञ्चालन बारे समझदारी पत्रमा हस्ताक्षर भएको छ। गत विहीबारदेखि नगरपालिकाभित्र तत्कालको लागि भाडाको कोठामा क्यान्सर क्लिनिक समेत सञ्चालन गरिएको छ।

‘यो अस्पताल ३/४ वर्षमा सकिने गरी निर्माण कार्य शुरू गरिने छ’, नगरपालिकाका मेयर अशोक कुमार मण्डलले बताए। उनले अस्पताल नगरपालिकासहितका तीन वटै संस्था मिलेर सञ्चालन गरिने बताए।

विनयतारा फाउन्डेसन, युएसएका अध्यक्ष एवं अंकोलजिष्ट डा. विनय साहले क्यान्सर अस्पताललाई एशियाकै महत्वपुर्ण अस्पतालको रुपमा स्थापित गर्ने बचन दिएकोसमेत मेयर मण्डलको भनाई छ।

‘यहाँ अन्तराष्ट्रियस्तरको क्यान्सर केन्द्र सञ्चालन गर्ने योजना छ’, विनयतारा क्यान्सर ट्रष्टका अध्यक्ष एवं ग्यास्ट्रो सर्जन डा. राकेशप्रसाद साहले भने। उनका अनुसार ५० शैय्याको अस्पताल निर्माण गरी क्रमिक रूपमा आवश्यकता अनुसार शैय्या बढाउँदै लगिने छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.