काठमाडौं, भदौ ३: प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका सबै निकायलाई कानुनी प्रक्रियाको अनुसरण गरी सूचनाको हकको उपयोग गर्न आव्हान गरेका छन् ।
राष्ट्रिय सूचना दिवसकाअवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले लोकतन्त्रको मर्म अनुसार नागरिकको सूचना पाउने हकको सम्मान गर्न आग्रह गरेका हुन्।
उनले राज्यका काम कारबाहीलाई नागरिकप्रति जवाफदेही बनाउन सार्वजनिक महत्वको सूचनामा आमनागरिकको पहुँच सरल र सहज हनुपर्ने सरकारको धारणा रहेको बताए । ‘कसैको व्यक्तिगत मामिला वा आमसरोकार नभएका विषयमा सूचनाको हक आकर्षित नहुने कुरातर्फ समेत सजग गराउँछु,’ प्रधानमन्त्री ओलीले सन्देशमा भनेका छन् ।
सूचनाको हक प्रयोग गर्दा हरेक व्यक्तिलाई आफ्नो कर्तब्यको पनि ख्याल गर्नुपर्ने भन्दै प्रधानमन्त्री ओलीले सूचनाको हक उपभोग गर्ने नाममा सामाजिक मर्यादा विपरित र वैयक्तिक र असम्बन्धित विषयमा सूचना माग्न उचित नहुने उल्लेख गरेका छन् ।
वर्तमान सरकार पारदर्शिता, भ्रष्टाचार नियन्त्रण, विधिको शासन र जवाफदेहीताको संस्कृतिमा आधारित भएर सुशासनलाई अघि बढाइरहेको उनको दाबी छ । ‘सुशासनलाई मजवुत बनाउदै समृद्ध नेपाल, सुखी नेपालीको मूल ध्येयलाई साकार तुल्याउन सरकार अघि बढेको छ,’ प्रधानमन्त्री ओलीको सन्देशमा उल्लेख छ ।