दुःखमाथिको दुःख! पतिवियोगकै बेला दुई छोराको निधन

| 2023 Jul 12 | 07:20 am 4661

जानु पाण्डे

कपिलवस्तु, असार २७।

दुःखीको घरमा मात्र तेरो बास हुने भए

हे ईश्वर! दया राखी मलाई अझ दुःख दे।

‘मुकुन्द–इन्दिरा’ नाटकमा नाट्यसम्राट बालकृष्ण समले मुख्य पात्र इन्दिराद्वारा बोलाएको श्लोक समाजमा कहिलेकाहीँ साँच्चिकै चरितार्थ हुन्छ। त्यस्तै पीडादायी घटना कपिलवस्तुकी गीता भुसालमाथि घटेको छ।

कपिलवस्तुको बुद्धभूमि नगरपालिका–१, कपासीकी गीता भुसालले गत वैशाखमा मात्र पति गुमाउनुपरेको थियो। पतिले आत्महत्या गरेपछि दुई नाबालक छोरा र सासूससुराको लालनपालनको जिम्मेवारीसमेत गीताको काँधमा आइपरेको थियो। पारिवारिक अवस्था नाजुक रहेपछि उहाँ १२ वर्ष र नौ वर्षका छोरालाई उनीहरूका हजुरबा हजुरआमाको रेखदेखमा छाडेर वैदेशिक रोजगारीका लागि २५ दिनअघि मात्र दुबई जानुभएको थियो तर सोमबार राति उहाँले दुई नाबालक छोरालाई नै गुमाउनुभयो।

१२ वर्षका दीपक भुसाल र नौ वर्षका प्रदीप भुसाललाई राति सुतेकै अवस्थामा विषालु सर्पले डसेको थियो। त्यो थाहा नपाउँदा उनीहरूको ज्यान गएको हो। यसरी सर्पले डसेको थाहा नपाउँदा कपिलवस्तुमा यी दाजुभाइसहित चार जनाको मृत्यु भएको छ।

दीपक र प्रदीप दुवै जना पारिजात बोर्डिङ स्कुल गोरुसिङ्गेमा अध्ययनरत विद्यार्थी हुन्। दुवै दाजुभाइ हजुरआमासँगै भुइँमा बिस्तारा लगाएर सुतेका थिए। बिहान अचेत अवस्थामा देखिएपछि उपचारका लागि स्थानीय मेडिकलमा पु-याइएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लगिएको थियो।

घरबाट पाँच किलोमिटरमा सर्पदंश उपचार केन्द्र भए पनि सर्पले डसेको आशङ्का नै नभएको र अन्य समस्या होला भनी उपचारका लागि बुटवल लगिएको स्थानीय पशुपति शर्माले बताउनुभयो तर अस्पतालको रिपोर्टमा सर्पदंशका कारण मृत्यु भएको देखिएको कपिलवस्तु सर्पदंश उपचार केन्द्रका व्यवस्थापक नवीन भण्डारीले बताउनुभयो। सँगै सुतेकी हजुरआमालाई भने अहिले सर्पदंश उपचार केन्द्रमा भर्ना गरिएको छ। उहाँको अवस्था सामान्य रहेको भण्डारीले बताउनुभयो।

यसै गरी सोमबार सर्पले डसेको थाहा नहुँदा थप दुई महिलाको मृत्यु भएको सर्पदंश उपचार केन्द्रले जनाएको छ। मृत्यु हुनेमा महाराजगन्ज नगरपालिकाका वर्ष ३१ को अनिता यादव र बुद्धभूमि नगरपालिका वडा नम्बर १० धनकौलीका वर्ष १४ की ममता चमार रहेको बताइएको छ। (गोरखापत्रबाट)

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.