सचिवमा नियुक्‍त भएका जिसी को हुन् ?

| 2018 Aug 19 | 09:51 am 10534

गुल्मी, भदौ ३: पूर्व माओवादीका केन्द्रीय सदस्य बुद्धि जिसीलाई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गुल्मीको सचिवमा मनोनित भएका छन्। २०४८ सालमा दिपक माध्यमिक विद्यालय, भनभनेबाट राजनीतिक यात्रा प्रारम्भ गरेका जिसी २०४८ सालमा ईकाई कमिटी अध्यक्ष बनेका थिए। त्यसपछि जिसीले एकता केन्द्रबाटै २०४९ देखि २०५३ साल सम्म विद्यार्थी संगठनको जिल्ला कमिटीको सचिवको जिम्मेवारी सम्हाले। २०४८ सालमा माओवादीको जनयुद्धको तयारी भइरहेको थियो। त्‍यसबेला उनले सक्रिय भएर जिम्म्वारी पुरा गरेका थिए।

२०५४ सालमा तत्कालिन माओवादीले गुल्मी, अर्घाखाँची र बाग्लुङ्गमा अघि सारेको अगुवा अभियानका क्रममा उनी २९ दिनसम्म प्रहरी हिरासतमा बसे। उनलार्इ गुल्मीको बाँझकटेरीबाट पक्राउ गरिएको थियो। २०५४ सालमा पहिलो पटक तत्कालिन माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग भेटेका जीसीलार्इ माओवादी आन्दोलनमा सक्रिय र भारतमा आवतजावत भइरहने भएकोले प्रवास संगठनको वाईसियल प्रवास शाखाको प्रवक्ता हेर्ने जिम्मा दिइयो।

जिसीका दार्इ विनोद कुमार भारतको जलान्धरमा व्यवसाय गर्ने र उनको त्यहाँ आवत जावत भइरहने भएकोले एक तहको राजनीतिक सम्बन्ध बनाइ सकेका थिए। त्यतिबेला ईञ्चार्ज जगत प्रसाद शर्मा ( अपार )थिए भने जिसीले पार्टी कमिटी प्रवास शाखाको १ र ३ नम्वर जिल्लाको सेक्रेटरी भएर काम गर्थे।

त्यसकाबाहेक जिसी अखिल भारत नेपाली एकता समाज राज्य समितिको सचिव पनि भए। पछि तत्कालिन राजा ज्ञानेन्द्रको पालामा भारतका प्रधानमन्त्री अटल विहारी भाजपेयी सरकारले संगठनलाई प्रतिबन्ध गर्‍यो। त्यसपछि उनीहरुले नेपाली जनअधिकार भारत सुरक्षा समिति गठन गरे त्यसको पनि राज्य समिति सचिव पनि जिसी नै भए। शान्ति प्रकृया पछि त्यही जिम्मेवारीमा जिसीलार्इ गृह जिल्ला गुल्मी खटाइएको थियो।

गुल्मी पुगेपछि उनले तत्कालिन मगराँत राज्य समिति सचिवालय सदस्यको जिम्मेवारी सम्हाँले। विद्याथी संगठन, वाईसियल र कर्मचारी संगठन निर्माण र परिचालनमा उनले एकदमै चुस्त र पारदर्शी भुमिका निर्वाह गरे।

पछिल्लो चरणमा उनी तत्कालिन माओवादीको केन्द्रिय सदस्यको जिम्मेवारीमा थिए। २०७४ सालको निर्वाचनमा माओवादीबाट गुल्मीको दुई वटै निर्वाचन क्षेत्र मध्ये जुनबाट पनि प्रतिनिधी सभा सदस्यको टिकट उनले लिन सक्ने अवसर थियो। तर गठबन्धन गरी तत्कालिन एमाले र माओवादी चुनावी मैदानमा होमिने भएपछि दुवै क्षेत्र तत्कालिन एमालेको भागमा पर्‍यो र एमालेका प्रदिपकुमार ज्ञवाली र गोकर्ण बिष्ट चुनावी मैदानमा होमिए भने जिसी दुवै क्षेत्रको चुनावी कमाण्डरका रुपमा खटिए।

२०३५ साल मंसिर १ गते गुल्मीको तत्कालिन साविक गाविस , हालको मदाने गाउँपालिका-७ मा सामान्य परिवारमा जन्मिएका जिसी शालिन स्वभावका राजनीतिज्ञ हुन्। कार्यकर्तामाझ लोकप्रिय जिसीसँग सबैलार्इ रिझाउन सक्ने खुबी छ। जिसी सबैसँग समन्व्य र सहकार्य गरेर अगाडी बढ्ने मिलनसार नेताका रुपमा चिनिन्छन। विकास निर्माणका मुद्दामा राजनीतिक पूर्वाग्रह राख्नु हुदैन भन्‍ने मान्यता राख्‍ने जिसी जनतालार्इ विपद्‍को समयमा साहरा दिने र दैनिक पिरमर्काको सारथी बन्‍ने गरेका छन्।

पार्टीको राजनीतिक ऐजण्डा र सिद्धान्तभन्दा फरक विचार राख्‍नेहरुलार्इ पनि स्थान दिनुपर्छ भन्ने मान्यता राख्‍ने जिसीको नियुक्तिले जिल्लाका नेता कार्यकर्ता पनि खुशी भएका छन्। विशेषगरी युवा वर्गलार्इ जिम्मेवारी दिएर विकास निर्माणमा सक्रिय बनाउनुपर्छ भन्‍ने सोंच राख्‍ने जिसी कर्मचारी वृतमा पनि लोकप्रिय नेताका रुपमा परिचित छन्।

एकै जिल्लाबाट दुर्इ जना मन्त्री बनेका परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली र श्रम तथा रोजगार मन्त्री गोकर्ण बिष्ट र सासंद सुदर्शन बराललगायतको सहयोग लिएर जिल्लाको समुन्‍नतीका लागि कार्य गर्ने जिसीको प्रतिबद्धता छ।

जिसीले पहिले जुनसुकै पार्टीमा भएपनि अहिले एक भइसकेकोले कुनै पुर्वाग्रह नराखी एकले अर्कोसँग सहकार्य गरेर जिल्लाको विकासमा लाग्‍नुपर्नेमा जोड दिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.