– रमेश विश्वकर्मा
गुल्मी, असार २२ । नेपाली काँग्रेसका केन्द्रीय सहमहामन्त्री एवम् प्रतिनिधिसभा सदस्य बद्री पाण्डेले नेपाल र नेपालीको विकासको परिकल्पना गर्न नेतृत्व दिन सक्ने जिल्लाको रुपमा गुल्मीलाई चित्रण गरेका छन् ।
सुदृढ लोकतन्त्र र जनताको भरोसाको लागि बदलिएको काँग्रेस’ भन्ने मूल नारासहित नेपाली काँग्रेस रेसुङ्गा नगर कार्यसमितिको आयोजनामा भएको दोस्रो नगर सम्मेलनलाई सम्बोधन गर्दै नेता पाण्डेले बताएका हुन् । उनले जनप्रतिनिधि र पार्टी बीचको सन्तुलन मिलाएर लैजाने कुरामा गुल्मी काँग्रेसले नमुना प्रस्तुत गरेको पनि बताएका थिए ।
राणा र राजालाई ठेगान लगाएको काँग्रेसले युगान्तकारी मोडहरूमा नेतृत्व गरेको छ ।’
अब बदलिएको काँग्रेस निर्माणका लागि आफूबाट सुरुवात गर्न नेता कार्यकर्ताहरुलाई नेता पाण्डेले आव्हान गरेका थिए । बद्लिएको काँग्रेस निर्माणका लागि आचारण र व्यवहारमा समस्या छ, यसलाई बदल्नुपर्ने’ बताउँदै संविधान र काँग्रेसको विधानका विषयमा छलफल गर्ने बेला आएको पाण्डेको दावी थियो ।

कार्यक्रममा नेपाली काँग्रेस लुम्बिनी प्रदेश उपसभापति भुवनप्रसाद श्रेष्ठले एकताले मात्रै काँग्रेसको भविष्य सुनिश्चित हुने बताएका थिए । काँग्रेसलाई सुदृढ बनाउनका लागि जनप्रतिनिधि र पार्टीका नेताप्रतिको समन्वयलाई पनि प्रभावकारी बनाउनुपर्ने श्रेष्ठको जोड थियो । युवाहरूको भविष्य निर्माण र सम्मुनत समाज निर्माणका लागि बलियो काँग्रेस आवश्यक भएको नेता श्रेष्ठको भनाई रहेको थियो ।
नेपाली काँग्रेस गुल्मीका सभापति खिलध्वज पन्थीले अहिले सुदृढ र बदलिएको काँग्रेस निर्माणको अभियानमा रहेको बताएका थिए । नगरको सम्मेलनमा पार्टीका नेता तथा कार्यकर्ताहरुको गौरवमय उपस्थितीले बदलिएको काँग्रेसको सुरुवातको रूपमा महसुस भएको नेता पन्थीको भनाई रहेको थियो ।
आगामी निर्वाचनलाई लक्षित गर्दै सभापति पन्थीले मिसन ०८४ विचार बिहिनहरूको लागि होइन काँग्रेसका लागि हो भन्दै नेपालका ठुला परीवर्तनहरुमा काँग्रेसको ठूलो योगदान पुर्याएको उल्लेख गरेका थिए ।
रेसुङ्गा नगर सभापति जयश्वर पन्थीको सभापतित्वमा सम्पन्न सम्मेलनलाई प्रदेश सदस्य द्रोण बहादुर खत्री, विष्णुकुमारी सापकोटा, छन्द बहादुर पहराईले पनि सम्बोधन गरेका थिए ।
