प्रदेशलाई समृद्ध प्रदेशका रुपमा विकास गर्ने : मुख्यमन्त्री पौडेल

रिपोर्ट नेपाल | 2018 Aug 18 | 07:14 pm 2054

काठमाडौँ, भदौ २ : प्रदेश नं. ३ का मुख्यमन्त्री डोरमणि पौडेलले जनतालाई प्रत्यक्ष अनुभूती हुने गरी यो प्रदेशलाई समृद्ध प्रदेशका रुपमा विकास गर्ने बताएका छन् ।

मदन भण्डारी फाउण्डेशनको दोस्रो राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उनले भने “ वर्तमान सरकारले देशमा व्यापक परिवर्तन गरेरै छाड्ने छ, यो हाम्रो सङ्कल्प हो, यसलाई पूरा गर्न सबैको साथ र सहयोग आवश्यक छ ।”

मुख्यमन्त्री पौडेलले पच्चीस वर्षअघि जननेता मदन भण्डारीले स्थापना गरेको जगमा हामी अहिले उभिरहेका छौँ भन्दै मदन भण्डारीको सिद्धान्तलाई जीवन्त बनाउन सकेमा मात्र उनीप्रति सच्चा श्रद्धाञ्जलि ठहरिने बताए ।

मदन भण्डारी फाउण्डेशनका केन्द्रीय सदस्य सीता पौडेलले नेपाल कम्युनिष्ट पार्टीभित्र बहुदलीय जनवादलाई आत्मसात् गर्दै आएका र जनताको बहुदलीय जनवादको नाम नै सुन्न नचाहने दुई फरक धार भएका नेकपा एमाले र माओवादीबीच एकता भएको प्रसङ्ग उल्लेख गर्दै वर्तमान सरकारले जनताको चाहना र अपेक्षा पूरा गर्ने बताए ।

नेकपाका नेता डा राजन भट्टराई तथा देवराज घिमिरेले नेपालको कम्युनिष्ट आन्दोलनलाई मदन भण्डारीले प्रजातान्त्रिकीकरण गरेको धारणा व्यक्त गरे । सभापतिको आसनबाट मदन भण्डारी फाउण्डेशनका उपाध्यक्ष गुरु बरालको सभापतित्वमा कार्यक्रम सम्पन्न भयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.