काठमाडौं, भदौ २ : कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले कायम मुकायम प्रधानन्यायाधीश दिपकराज जोशी नभएर ओमप्रकाश मिश्र भएको दाबी गरेका छन् ।
शनिबार रिपोर्टस क्लबमा मन्त्री ढकालले कामु प्रधानन्यायाधीश जोशी नभएर मिश्र नै रहेको दाबी गरेका हुन् । उनले भने, ‘संविधान र कानूनले चिनेको कामु प्रधानन्यायाधीश ओमप्रकाश मिश्र नै हो ।
संसदीय सुनुवाइ समितिले अस्वीकृत गरेपछि दीपकराज जोशी बिदामा बसेका छन् भने सर्वोच्चको दैनिक कार्य सञ्चालन ओमप्रकाश मिश्रले गरिरहेका छन् ।
प्रधानन्यायाधीशमा अस्विकृत व्यक्तिको नाममा कसैले प्रेस विज्ञप्ती जारी गर्दैमा उसलाई कामु प्रधानन्यायाधीश मान्न सकिँदैन् । हामीले त कानून र संविधानले चिनेको व्यक्तिलाई नै कामु मान्ने हो ।’
उनले अब सर्वोच्च अदालतको प्रधानन्यायाधीश को बन्छ भन्ने कुरा संवैधानिक परिषद्को बैठकबाट टुँगो लाग्ने बताए । उनले भने, ‘संवैधानिक परिषदको बैठक छिट्टै बस्छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा स्वदेश फर्किएपछि छलफलबाट हामी परिषदको बैठक टुँगो लगाउँछौं ।’