काठमाडौं, असार ९ । आइसिसि विश्वकप क्रिकेट छनोट खेल अन्तर्गत आज नेदरल्यान्ड्ससँगको खेलमा नेपाल १ सय ६७ रनमा अलआउट भएको छ ।
जिम्बावेमा चलिरहेको उक्त छनोट खेलमा नेदरल्यान्ड्सले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गर्न आएको नेपालले ४४.३ ओभर खेल्दै १ सय ६७ रन बनाई अलआउट भएको हो ।
नेपालका तर्फबाट कप्तान रोहित पौडेलले सर्वाधिक ३३ रन बनाए भने पूर्व कप्तान सन्दीप लामिछानेले २७ रन बनाएर आउट भए । त्यस्तै, कुशल भुर्तेलले २७, भीम सार्कीले २२, गुल्सन झाले १५, दिपेन्द्रसिंह ऐरीले १४, कुशल मल्लले १२, आरिफ शेखले ६ र करण केसीले १ रन बनाए । आशिफ शेख खाता नखोली आउट भए ।
नेदरल्यान्ड्सका मध्यम गतिका बलर लोगन भानले ४ विकेट लिन सफल भए ।
आज नेपाल नेदरल्यान्ड्स सँग पराजित भए छनोट चरणबाट बाहिरिनेछ । नेपालले जितेमा र अन्तिम खेलमा नेदरल्यान्ड्स वेस्ट इन्डिजसँग पराजित भएमा नेपाल सुपर सिक्समा पुग्ने सम्भावना कायमै रहन्छ ।