पुल बगाएपछि एक सातादेखि आवतजावत ठप्प

रिपोर्ट नेपाल | 2018 Aug 18 | 09:10 am 1594

जाजरकोट, भदौ २: बाढीले केही पुल बगाएपछि नलगाड नगरपालिकाका बासिन्दालाई समस्या भएको छ । पुल तर्न नसक्दा विद्यार्थी विद्यालय जानबाट बञ्चित भएका छन् भने सयौं स्थानीय बासिन्दालाई पनि आवतजावतमा कठिनाइ भएको छ । गत साउन २६ गते आएको बाढीले यहाँको वडा नं १, २, ३, ४ र ५का खोलाका पुल बगाएको थियो ।

त्रिभुवन माध्यमिक विद्यालय दल्ली र जनकल्याण निमाविमा पढ्ने विद्यार्थी पढाइबाट बञ्चित भएको शिक्षक दिनेश ओलीले बताए । रुकुमको आठविसकोट नगरपालिकाबाट पढ्न आउने विद्यार्थीसमेत पढाइबाट बञ्चित भएका छन् । पुल नहुँदा साविकका लहँ र डाँडागाउँ गाविसका बासिन्दाको आवतजावत ठप्प भएको छ । खोलाले पानीघट्टसमेत बगाएकाले अन्न पिस्न नपाइ समस्या थपिएको डाँडागाउँका चन्द्र पुनले बताउनुभयो ।

झुम्रेखोलामा आएको बाढीले यहाँको कालिमटी र घुवारामा रहेको पुल बगाएकाले बारेकोट गाउँपालिकामा जाने–आउने बाटोका साथै जाजरकोट–डोल्पा सडक खण्डसमेत अवरुद्ध भएको छ । सयौँ यात्रु खोला तर्न नसक्दा समस्यमा परेका छन् । सडक अवरुद्ध हुँदा नलगाड हाइड्रोपावरको काम समेत बन्द भएको छ। निर्माणस्थल दल्लीमा आउने सडक अवरुद्ध भएपछि आयोजनाको काम ठप्प भएको हो। सुरुङ निर्माणको काम अवरुद्ध भएपछि तीन दर्जन मजदुर बेरोगार भएको स्थानीयवासी लोकेन्द्रविक्रम शाहीले बताए।

त्यस्तै नलगाड–८ स्थित पञ्च भयार मावि र कायखेतस्थित मष्ट प्राविका विद्यार्थी पनि पुलको अभाबमा विद्यालय जान पाएका छैनन। बाढीले बगाएका ठाउँमा अस्थायी पुल निर्माण गरिने नलगाड नगरपालिकाका प्रमुख टेकबहादुर रावलले बताउनुभयो । बाढी र पहिराबाट भएको क्षतिका विषयमा अध्ययन गर्न कार्यदल गठन गरिएको छ । करोडौंको क्षति भएका कारण नगरपालिकाले मात्रै समाधान गर्न नसक्ने उनले बताए।

यता वनमन्त्री शक्तिबहादुर बस्नेतले जिल्लामा भएको क्षतिका विषयमा यकिन विवरण सङ्कलन भइरहेको बताउँदै प्याकेजमा राहत तथा पुनःस्थापनाका काम गरिने बताए। अहिले जाजरकोट सदरमुकामलगायत पूर्वको नलगाड नगरपालिकामा बाढी र पहिरोका कारण करोडौँको क्षति हुनुका साथै सडक पूर्णरूपमा अवरुद्ध भएको छ। जलवायु परिर्वतनका हिसाबले सङ्कटपूर्ण जिल्ला बनाएका बेला बाढी र पहिराले थप समस्या निम्त्याएकाले सङ्कटग्रस्त जिल्ला घोषणा गर्न सरकारसँग माग गरिएको सांसद गणेशप्रसाद सिंहले बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.