अस्पतालको गुणस्तर अभिवृद्धिमा ऐक्यबद्ध हुन महानिरीक्षक कुँवरकाे निर्देशन

| 2023 Jun 22 | 05:08 pm 2189

काठमाडौं, असार ७ ।  प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपाल प्रहरी अस्पतालको छवि, साख, विश्वास एवम् अस्पतालले प्रवाह गर्ने सेवाको गुणस्तर अभिवृद्धि गर्न अस्पतालमा कार्यरत प्रहरी अधिकृतहरूले व्यक्तिगत स्वार्थ भन्दा पनि पेशागत स्वार्थलाई आत्मसात गरी ऐक्यबद्ध भई उत्कृष्ट कार्य सम्पादन गर्न निर्देशन दिएका छन् । नेपाल प्रहरी अस्पतालको निरीक्षण गर्दै महानिरीक्षक कुँवरले उक्त कुरा बताएका हुन् ।

महानिरीक्षक कुँवरले अस्पतालमा आउने सेवाग्राहीको आशा र समस्यालाई संबोधन गर्दै  शिष्टताका साथ कार्य गर्न विशेष निर्देशन दिएका थिए ।  अस्पतालले प्रदान गर्ने गुणस्तरीय सेवा प्रवाह एवम् सेवाग्राहीको गुनासो व्यवस्थापनमा अस्पताल प्रशासनले अझै प्रवाभकारी भूमिका निर्वाह गर्नुपर्नेमा महानिरीक्षक कुँवरको  जोड थियो ।

महानिरीक्षक कुँवरले सीमित साधन स्रोत एवम् विज्ञ जनशक्तिका वावजुद पनि अस्पतालले प्रवाह गरेको सेवा प्रशंसनीय रहेको बताएका थिए । अस्पतालको लक्ष्य हासिलको लागि अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी लगायत प्रहरी कर्मचारीहरूले आफ्नो जिम्मेवारीलाई गम्भीरतापूर्वक वहन गरी सम्पादन गर्नुपर्ने बताएका थिए ।  अस्पतालका कमी कमजोरी सुधार र चुनौतिको सामना गर्न सामूहिक भावनाका साथ जिम्मेवारी वहन गर्न निर्देशन दिँदै मानवीय सेवा प्रवाह गर्दै  अस्पतालको छवि  उच्च बनाउनुपर्ने कुरामा कुँवरको जोड थियो ।

प्रहरी महानिरीक्षक कुँवरले अस्पतालस्थित अक्सिजन प्लान्ट, इमरजेन्सी विभाग लगायत विभिन्न युनिटको निरीक्षण समेत गरेका थिए । कार्यक्रममा अस्पतालका मेडिकल डाइरेक्टर प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा। आशा सिंहले धन्यवाद ज्ञापन गर्दै अस्पतालको विकास र सेवा विस्तारको लागि संगठन प्रमुखबाट प्राप्त महत्वपूर्ण निर्देशनलाई पालना गर्दै काम गर्ने प्रतिवद्धता व्यक्त गरेकी थिइन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.