वेस्ट इन्डिजबारे जानकार नेपाल

| 2023 Jun 22 | 06:35 am 1893

काठमाडौँ, असार ७। विश्वकप छनोट क्रिकेटमा वेस्ट इन्डिजविरुद्ध बिहीबार हुने खेल नेपालको एकदिवसीय मान्यताप्राप्त भएयता टेस्ट राष्ट्रसँगको केवल दोस्रो खेल हो । दुई पटकको एकदिवसीय च्याम्पियन वेस्ट इन्डिजसँग पहिलोपल्ट खेल्न लागे पनि नेपाल विपक्षी टोलीबारे पूरा जानकार छ ।

सन् २०२३ को सुरुआतमा मोन्टी देसाई प्रशिक्षक भएर आएयता नेपालले उच्च प्रदर्शन गर्दै आएको छ । भारतीय प्रशिक्षक देसाई यहाँ आउनुअघि वेस्ट इन्डिजकै ब्याटिङ प्रशिक्षक थिए । फिल सिमोन्स वेस्ट इन्डिजको प्रमुख प्रशिक्षक रहेको समयमा देसाईले दुई वर्ष ब्याटिङ प्रशिक्षकको भूमिका निभाएका थिए । डिसेम्बर अन्त्यमा वेस्ट इन्डिजसँगको सम्झौता सकिएपछि उनी नेपालको प्रशिक्षक बन्न काठमाडौं ओर्लिएका थिए ।

देसाईले छाडेयता वेस्ट इन्डिजको प्रशिक्षण टोलीमा धेरै परिवर्तन आइसकेको छ । सिमोन्सको स्थानमा वेस्ट इन्डिजलाई दुई पटक ट्वान्टी–२० विश्वकप जिताएका डारेन सामीले मुख्य प्रशिक्षकको जिम्मा लिइसकेका छन् भने आफ्नो समयका सदाबहार अलराउन्डर कार्ल हुपरलाई सहायक प्रशिक्षकमा ल्याएका छन् ।

तर, वेस्ट इन्डिजका वर्तमान खेलाडीहरूबारे देसाई पूर्ण रूपमा जानकार छन् । जिम्बावेको हरारेस्थित हरारे स्पोर्ट्स क्लबमा वेस्ट इन्डिजसँग खेल्दा नेपाललाई ‘मोन्टी फ्याक्टर’ निकै महत्त्वपूर्ण हुनेछ । ‘हामी रोमाञ्चक यात्रामा छौं र आफ्नो कथा आफैं बुनिरहेका छौं, जसरी हामीले तयारी गरिरहेका छौं, त्यसअनुसार हरेक खेलका लागि तयार छौं,’ देसाईले आईसीसीको टिभीसँग भनेका थिए ।

एक समय विश्व क्रिकेटको ‘पावर हाउस’ वेस्ट इन्डिज लगातार दोस्रो पटक विश्वकप छनोटमै खेलिरहेको छ । एकदिवसीय वरीयतामा बंगलादेश र अफगानिस्तानभन्दा पछाडि रहेपछि वेस्ट इन्डिज यो प्रतियोगिता खेल्न बाध्य भएको हो । वेस्ट इन्डिजका सहायक प्रशिक्षक हुपरले आफ्नो टोलीले छनोट प्रतियोगिता खेल्नुपर्छ भनेर विगतमा कहिल्यै नसोचेको जनाउँदै एएफपीसँग भनेका छन्, ‘मैले अरू टिमलाई सम्मानगर्न नखोजेको होइन । तर हामी अमेरिका, नेपाल, स्कटल्यान्डसहितका राष्ट्रसँग खेल्न गइरहेका छौं ।’

हरारेमा प्रतियोगिताको पहिलो खेलमा नेपालले आयोजक जिम्बावेसँग प्रतिस्पर्धा गरेको थियो, जुन खेल नेपालको टेस्ट राष्ट्रसँग पहिलो खेल पनि थियो । नेपाल उक्त खेलमा ८ विकेटले पराजित भए पनि त्यसपछि अर्को खेलमा अमेरिकालाई ६ विकेटले पराजित गरी विजय यात्रामा फर्किएको छ । नेपालले पछिल्ला २० प्रतियोगितात्मक खेलमा १६ मा विजय हात पारेको छ भने २ खेलमा हार बेहोरेको छ ।

देसाई आउनुअघि नेपाल विश्वकप लिग २ को पुछारबाट दोस्रो स्थानमा थियो । तर, १२ मध्ये ११ खेल जित्दै नेपाल लिग २ मा तेस्रो भएर सिधै विश्वकप छनोट खेल्न जिम्बावे पुगेको हो । त्यसपछिको एसीसी प्रिमियर कपमा पनि नेपाल अपराजित रहँदै एसिया कपका लागि छनोट भएको थियो । त्यसक्रममा नेपालले ओमान, यूएईको चुनौती पन्छाएको थियो । जिम्बावेसँग २ सय ९० रन बनाए पनि नेपाल ४५ ओभरभित्र खेल हार्न पुगेको थियो । वेस्ट इन्डिजले पहिलो खेलमा २ सय ९७ रन बनाउँदै अमेरिकासँगको खेल ३९ रनले जितेको थियो । वेस्ट इन्डिजबाट अमेरिकाविरुद्ध जोहान्सन चार्ल्स (६६), कप्तान साई होप (५४), रोस्टन चेज (५५) र पूर्व कप्तान जेसन होल्डर (५६) ले अर्धशतक बनाएका थिए । अर्का पूर्व कप्तान निकोलस पुरनले ४३ रन जोडेका थिए ।

बिहानी सत्रमा नयाँ बलबाट हुने खतरालाई लिएर उनी चिन्तित छन् । त्यसैले उनले आफ्नो ब्याटरबाट थप बलियो प्रदर्शनको माग गरेका छन् । अमेरिकासँगको पहिलो पावर प्लेमा वेस्ट इन्डिजले ४१ रनमात्र बनाउन सकेको थियो भने दुवै ओपनर ब्रेन्डन किङ र केयल मेयर्सलाई गुमाएको थियो । ‘नेपाल माथि आइरहेको टिम हो र उसले राम्रो खेल्दै आइरहेको छ । हामी सबै प्रतिद्वन्द्वीको सम्मान गर्छौं,’ सामीले क्रिकइन्फोमा भनेका छन्, ‘तर, हामी एउटा टिमको रूपमा खेल्न चाहन्छौं र आफ्नो पहिचानअनुरुपको क्रिकेट खेल्न केन्द्रित छौं ।’

बलिङमा वेस्ट इन्डिज तीव्र गतिका बलरले भरिएको छ । किमो पाल, होल्डर, मेयर्स र अल्जारी जोसेफको तीव्र बलिङ नेपालका लागि चुनौती हुनसक्छ । जिम्बावेसँगको पहिलो खेलमा चोट लागेका नेपालका मध्यम गतिका बलर सोमपाल कामीले समूह चरणको खेल गुमाउने भइसकेका छन् । अर्का तीव्र गतिका बलर करण केसीले सानदार बलिङ गर्दै ४ विकेट लिएपछि नेपालले अमेरिकालाई २ सय ७ रनमा अलआउट गरेको थियो ।

जिम्बावे जानुअघि नै वेस्ट इन्डिजसँग खेल्ने प्रसंगलाई लिएर नेपाली टोली निकै उत्साहित रहेको कप्तान रोहित पौडेलले जनाएका थिए । होल्डर, जोसेफको बलिङको कसरी सामना गर्ने भनेर आफूहरूले विशेष रणनीति बनाइरहेको रोहित सुनाइरहन्थे । वेस्ट इन्डिजसँग नेपालका प्रशिक्षक देसाईको रणनीति कस्तो होला त ? सम्भवतः वेस्ट इन्डिजका लागि पनि चासोको विषय यही नै होला । – कान्तिपुरबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.