गुल्मी, जेठ २५ गते । जिल्लाको सदरमुकाम तम्घासमा रहेको सरकारी अस्पतालमा लामो समयदेखी दुई वटा भेन्टिलेटर सहितको पाँच बेडको आइसियुकक्ष ले काम पाउन सकेको छैन । कोभिड १९ को समयमा आइसियु अभावका कारण धेरै विरामीले ज्यान गुमाउनु परेको र सेवा नपाएको भन्दै एक करोड पचास लाख बढीको उपकरण जडान गरिएको थियो ।
रिपोर्ट नेपाललाई प्राप्त समाचार अनुसार ती महंगा उपकरणमा खिया लाग्न थाले पछि सेवाग्राही हरुले चिन्ता व्यक्त गर्न थालेका छन् । एकातिर भएको उपकरण थन्किएर बसेका छन् भने अर्कातर्फ विरामीले महँगो शुल्क तिरेर अन्यत्र गई उपचार गर्न बाध्य छन् । हतारमा निर्णय गरेर फुर्सदमा पछुताउने नेपालीको बानी अनुसार उक्त अस्पतालमा पनि उपकरण जडान गर्नु पूर्व आवश्यक जनशक्ति के कति चाहिन्छ त्यो नगरी जडान गरेका कारण भेन्टिलेटरसहितको आइसियु सेवा उपयोगमा आउन नसकेको हो ।
गुल्मी अस्पतालमा स्थायी दरबन्दी ५९ जनाको रहे पनि तर, अस्पतालमा अहिले प्रयाप्त जनशक्ति नहुँदा विरामी बाध्य भएर निजी अस्पताल धाउन बाध्य भएका छन् । छिमेकी जिल्ला अर्घाखाँचीको छत्रदेव र मालारानीका जनतालाई समेत सेवा दिने उक्त अस्पतालमा आवश्यक जनशक्ति सम्बन्धित निकायले पुरा गर्न स्थानीयले माग गरेका छन् ।