म्याच फिक्सिङ गरे पाँच वर्ष कैद र ५० हजार जरिवाना

रिपोर्ट नेपाल | 2018 Aug 17 | 08:55 am 1946

काठमाडौं, भदौ १: मुलुकी अपराध संहिता ऐनको भाग २ मा रहेको फौजदारी कसूरहरु अन्तर्गत परिच्छेद १ मा राज्य विरुद्धका कसुरको व्यवस्था गरिएको छ। उक्त परिच्छेदको दफा ५१ ले राष्ट्रहित प्रतिकूल हुने काम गर्न नहुने उल्लेख गरेको छ।

राज्यको प्रतिनिधिका रूपमा सम्मिलित कुनै पनि खेलमा मिलेमतो गरे अब खेलाडीलाई राज्यविरुद्ध कसुरमा सजाय हुने ऐनले व्यवस्था गरेको छ। खेल मिलेमतोमा पहिलोपटक राज्यविरुद्ध अपराध कसुर मानिएको हो।

ऐनमा नेपालको प्रतिनिधित्व गरी नेपालमा वा विदेशी मुलुकमा कुनै खेलाडी वा खेलाडीहरुसँग प्रतिस्पर्धा गर्न कुनै खेल खेल्ने नेपाली खेलाडी वा खेलाडीहरुको समूहले कुनै बाजी जिताउने वा हराउने गरी खेल्न वा खेलाउन हुँदैन भनिएको छ। यदि त्यसरी कुनै खेल खेलिएको रहेछ भने राष्ट्रिय हित विरुद्धको कसूर भएको मानिनेछ भनेर उल्लेख छ । यस्तो कसूरमा संलग्नलाई पाँच वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुने पनि ऐनमा व्यवस्था गरिएको छ ।

यस्तै यस्तो काम गर्दा कुनै रकम लेनदेन गरेको भएमा सजायका अतिरिक्त लेनदेन गरेको रकम समेत जफत गरिने छ । त्यस्तो कसूर गर्न आदेश वा निर्देशन दिने, उक्साउने वा त्यस्तो कसूर गर्न मद्दत गर्ने व्यक्तिलाई पनि मुख्य कसूरदार सरह सजाय हुने व्यवस्था छ ।

यस्तै कसूर गर्ने व्यक्ति सार्वजनिक पद धारण गरेको छ वा नेपाललाई प्रतिनिधित्व गर्ने व्यक्तिले विदेशमा गएका बखत गरेको रहेछ भने उक्त व्यक्तिलाई थप तीन वर्षसम्म कैद गरिने छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.