राैतहट, जेठ ११ः रौतहटको देवाही गोनाही नगरपालिका १ करुनियामा गोली लागेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ७० वर्षीय शेख तैयब रहेका छन्। विहीवार बिहान टाउकोमा गोली लागेर मृत्यु भएको अवस्थामा तैयबको शव भेटिएको हो।
तैयबलाई गोली कसले हानेको हो भन्ने खुलेको छैन। करुनिया नजिकै रहेको आरोही बाल एकेडेमी नजिक तैयबको शव विहीवार भेटिएको हो। घटनाको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपि वीर बहादुर बुढामगरले जानकारी गराएका छन्।
हत्या कुन उद्देश्यले कसले गरेको हो भन्ने जानकारी बाहिर आएको छैन। तैयबको हत्याको खबर गाउँमा फैलिनासाथ सन्त्रासको वातावरण फैलिएको छ।
तैयबको शवलाई पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल गौरमा पुर्याइएको छ । आफन्तहरुले घटनाको अनुसन्धान हुनुपर्ने माग गरेका छन्।
रौतहटमा एकपछि अर्को हत्या भइरहेको छ। गत शनिवार राति रौतहट सदरमुकाम गौर नगरपालिका ७ सिसवामा छुरा प्रहारबाट एक जनाको मृत्यु भएको थियो। छुरा प्रहारबाट मृत्यु भएको घटनाको एक हप्ताभित्र गोली प्रहारबाट मृत्यु भएको अर्को घटना भएको हो।
लगातार हत्याका दुई घटना भएको रौतहटमा अहिले सन्त्रासको वातावरण भएको छ।