काठमाडौं, जेठ १०ः आयुर्वेद औषधि उत्पादन गर्ने एकमात्र सरकारी कम्पनी वैद्यखानाको अवस्था दयनीय छ । कुनै समय १ सय भन्दा बढि प्रकारका औषधि उत्पादन गर्ने सिंहदरबार वैद्यखानामा अहिले उत्पादन ठप्प जस्तै छ ।
राजनीतिक खिचातानी तथा वैद्यखाना भित्रकै कर्मचारीहरुको आन्तरिक किचलोले वैद्यखानामा औषधि उत्पादन निकै कम छ ।
सिंहदरबार वैद्यखाना विक्रम सम्वत १६९८ देखि १७३१ मा राजा प्रताप मल्लको पालामा आयुर्वेदिक औषधि उत्पादन गर्ने उद्देश्यले ल्याइएको अवधारणा हो ।
वि.सं २०५२ सालमा ‘सिंहदबार वैद्यखाना विकास समिति’का रुपमा स्थापना गरियो । यति लामो इतिहास बोकेको आयुर्वेद औषधि उत्पादन कम्पनी वैद्यखानाको अवस्था भने अहिले निकै दयनीय छ ।
कुनैबेला १ सय ६० प्रकारका आयुर्वेद औषधि उत्पादन भएको यो कम्पनीमा अहिले जेनतेन १० प्रकारका औषधि उत्पादन हुन पनि मुश्किल छ ।
बैद्यखानाका उत्पादन प्रमुख हरिदेव यादवका अनुसार वैद्यखानामा केही समयअघि औषधि उत्पादन गरियो । तर एक महिना नपुग्दै उद्योग फेरि बन्द भयो ।
औषधि उत्पादनका लागि आवश्यक जडिबुटी नपाइँदा अभाव तथा ठेकेदारलाई दिने रकम अभावमा पनि उद्योग नियमित सञ्चालन हुन सक्दैन । यद्यपि बैद्यखानासंग अहिले पनि १० करोड रुपैंया जगेडा रकम भए पनि उत्पादन गर्नेतर्फ कर्मचारीहरु नै बाधक बन्ने गरेका छन् ।
विसं २०५१ को गठन आदेशअनुसार काम गर्दा वैद्यखाना समितिमा समस्या देखिएको थिएन । तर वि सं २०७५ मा विकास समिति ऐनअन्तर्गत गठन भएका सबै समिति विघटन भएपछि वैद्यखानाका समस्या उत्पन्न भएको कर्मचारीहरु बताउँछन् ।
सिंहदरवार वैद्यखानामा औषधि उत्पादनको अवस्था हेर्दा हरेक वर्ष उत्पादन खस्कदो अवस्थामा छ ।
२०७५\०७६ सालमा २ करोड ४५ लाख ६ हजारको उत्पादन भएको सिंहदरबार वैैद्यखानाको उत्पादन त्यस यता ओरालो लाग्ने क्रममा छ ।
बजारमा वैैद्यखानाको औषधीको माग अहिले पनि उच्च छ तर औषधि नियमित उत्पादन हुन सक्दैन ।
वैैद्यखानाको आर्थिक अवस्था निकै कम्जोर भएकाले उत्पादन गर्न नसकिएको वैैद्यखानाका निमित्त कार्यकारी निर्देशक डाक्टर रामदेव यादव बताउँछन् ।
बैद्यखानामा उत्पादन तथा व्यवस्थित रणनीति कमजोर बन्दा निजी तथा विदेशी आयुर्वेद औषधि कम्पनीहरु फस्टाएका छन् ।
वैैद्यखानामा औषधी उत्पादन नहुनको पछाडि निजी तथा विदेशी उत्पादन कम्पनीको चलखेल हुन सक्ने बैद्यखानाका पूर्व कार्यकारी निर्देशक श्यामबाबु यादव बताउँछन् ।
तालुकदार निकायले वैद्यखाना सञ्चालनको विषयमा आवश्यक ध्यान नदिनु र वैद्यखाना आफैमा स्वायत्त बन्न नसक्दा करोडौंको औषधि उत्पादन गर्ने क्षमता राख्ने बैद्यखानाको अवस्था कन्तविजोग भएको छ ।