प्रधान सेनापति राष्ट्रिय खुल्ला टेनिस प्रतियोगिता दोस्रो संस्करण सम्पन्‍न

| 2023 May 20 | 08:04 am 1909

काठमाडाैं, जेठ ६ः प्रधान सेनापति महारथी श्री प्रभुराम शर्माले प्रधान सेनापति खुल्ला टेनिस प्रतियोगिताको दोस्रो संस्करणमा च्याम्पियन हुने टिम त्रिभुवन आर्मी क्लबलाई ट्रफि तथा प्रमाण-पत्र प्रदान गरेका छन् । जङ्गी अड्‍डास्थित टेनिस कोर्टमा आज मिति २०८० जेठ ५ गते आयोजित समारोहमा प्रधान सेनापतिले समापन खेल पुरुष एकल खुल्ला प्रतियोगिताका विजेता कास्की जिल्ला टेनिस संघका अभिषेक बास्तोला र महिला एकलतर्फ विजयी हुने सुनिरा थापा लगायतलाई पुरस्कृत गरे ।

मिति २०८० बैशाख २८ गते शुरु भएको प्रतियोगिता जङ्गी अड्‍डास्थित टेनिस कोर्ट तथा दशरथ
रंगशालास्थित टेनिस कोर्टमा संचालन भएको थियो । प्रतियोगितामा नेपाल टेनिस संघ, विभिन्न जिल्लाका टेनिस संघहरु तथा क्लबहरुका साथै अन्तर सरकारी निकायका गरी जम्मा २०९ जना खेलाडीहरुले विभिन्न विधामा प्रतिष्पर्धा गरेका थिए ।

वि.सं. २०६८ सालबाट मकवानपुर टेनिस संघको प्राविधिक सहयोग र नेपाली सेनाको आयोजनामा हेटौंडामा संचालन हुँदै आइरहेको सामरी स्ल्याम टेनिस प्रतियोगिता कोभिड-१९ महामारी लगायतका कारण निरन्तरता पाउन सकेको थिएन । टेनिस खेलको विकासमा योगदान पुर्‍याउने समेत उद्देश्यले वि.सं. २०७८ देखि प्रधान सेनापति खुल्ला टेनिस प्रतियोगिता संचालन गरिएको हो ।

समापन समारोहमा पूर्व प्रधान सेनापतिहरु, रथीवृन्द, नेपाल प्रहरीका महानिरीक्षक बसन्त कुंवर,
सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक राजु अर्याल, नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जिवनराम श्रेष्ठ, नेपाल टेनिस संघका अध्यक्ष श्रीमति ज्योती राणा, नेपाल ओलम्पिक कमिटीका महासचिव मिलेन्द्रराज श्रेष्ठ, नेपाल टेनिस संघ र विभिन्न टेनिस क्लबहरुका पदाधिकारीहरु, नेपाली सेनाका अधिकृतहरु, सञ्‍चारकर्मीहरु तथा खेलाडीहरुको उपस्थिति रहेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.