काठमाडाैं, बैशाख २९ः मिति २०८० बैशाख २८ गते प्रधान सेनापति महारथी प्रभुराम शर्मा र नेपालका लागि मित्रराष्ट्र इजरायलका राजदूत His Excellency Mr Hanan Goder Goldberger बीच जङ्गी अड्डामा शिष्टाचार भेटघाट भएको छ ।
प्रधान सेनापतिको कार्यकक्षमा भएको उक्त भेटघाटमा दुई पक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो । यस किसिमको भेटघाटले दुई देशबीच रहिआएको सम्बन्ध थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।
रक्षा संवाददाता अभिमुखिकरण कार्यक्रम सम्पन्न
रक्षा सम्बद्ध संचारकर्मीहरुलाई नेपाली सेनाको सांगठनिक स्वरूप, कार्यसंचालन प्रकृया लगायतका बिषयमा जानकारी गराउने उद्देश्यले मिति २०८० बैशाख २५ गतेबाट सिन्धुलीस्थित श्री नं. ९ बाहिनी अड्डामा संचालन भएको रक्षा संवाददाता अभिमुखिकरण कार्यक्रम (Defence Correspondent Orientation Programme) मिति २०८० बैशाख २८ गते सम्पन्न भएको छ ।
अभिमुखिकरण कार्यक्रममा सहभागीहरुलाई नेपाली सेनाका विभिन्न निकायहरुको काम, कर्तव्य र जिम्मेवारीहरुका बारेमा प्रस्तुतिकरण तथा अन्तरक्रिया सहितको जानकारीमूलक कार्यक्रम सञ्चालन गर्नुका साथै सिन्धुली गढी युद्ध संग्रहालय लगायतका इलाकाहरुको भ्रमण गराईएको थियो ।
मध्य पूर्वी पृतनापति उपरथी श्री प्रेमध्वज अधिकारीको प्रमुख आतिथ्यमा आयोजित समापन कार्यक्रममा नेपाली सेनाका अधिकृतहरुको उपस्थिती रहेको थियो । समापनका अवसरमा उपरथी श्री अधिकारीले सहभागीहरुलाई प्रमाण-पत्र वितरण गरे । कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस किसिमको अन्तरक्रियात्मक कार्यक्रमले सैनिक नागरिक सम्बन्धको विस्तार हुनुका साथै मिडियाकर्मीहरुलाई नेपाली सेना तथा रक्षा क्षेत्रका समाचार सम्प्रेषणमा सहजता हुने विश्वास व्यक्त गरे ।
देशका विभिन्न भागमा कार्यरत सञ्चारकर्मीहरुलाई नेपाली सेनाको बारेमा जानकारी गराउने उद्देश्यले पृतनाहरुको समन्वयमा यस किसिमको कार्यक्रम आयोजना हुँदै आएको छ ।