प्रधान सेनापति राष्ट्रिय टेनिस प्रतियोगिताको दोस्रो संस्करण शुरु

| 2023 May 12 | 07:57 am 1241

काठमाडाैं, बैशाख २९ः नेपाली सेनाको आयोजना तथा नेपाल टेनिस संघको प्राविधिक सहयोगमा सञ्चालन हुने दोस्रो संस्करणको प्रधान सेनापति राष्ट्रिय टेनिस प्रतियोगिता २०७९/८० को मिति २०८० बैशाख २८ गते बलाधिकृत रथी सरोज प्रताप राणाले समुद्‍घाटन गरेका छन् । १३ वटा ईभेन्टमा प्रतिष्पर्धा हुने यस प्रतियोगितामा १५ वटा क्लबको सहभागिता रहेको छ ।

नेपालमा टेनिस खेलको विकासमा सहयोग पुर्‍याउने उद्देश्यका साथ मिति २०८० जेठ ०५ गतेसम्म जङ्गी अड्‍डास्थित टेनिस कोर्ट तथा दशरथ रंगशालास्थित टेनिस कोर्टमा सञ्‍चालन हुने यस प्रतियोगितामा खुल्लातर्फ पुरुष एकल, महिला एकल र मिक्स युगल, भेट्रान्सतर्फ ३५ वर्ष माथि एकल र युगल, ४५ वर्ष माथि एकल र युगल, ५५ वर्ष माथि एकल र युगल, ६५ र ७० वर्ष माथि एकल तथा Inter- Governmental तर्फ पुरुष एकल र युगल विधाहरु समावेश गरिएको छ ।

सैनिक तालिम महानिर्देशक उपरथी बाबुराम श्रेष्ठले स्वागत मन्तव्य राखेकाे कार्यक्रममा नेपाली सेनाका रथीवृन्द, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभागका प्रतिनिधिहरु, नेपाल टेनिस संघका अध्यक्ष, नेपाल ओलम्पिक कमिटीका महासचिव, नेपाल टेनिस संघका महासचिव एवं पदाधिकारीहरु, विभिन्न टेनिस क्लबहरुका पदाधिकारीहरु, नेपाली सेनाका अधिकृतहरु, सञ्‍चारकर्मीहरु तथा खेलाडीहरुको उपस्थिति रहेको थियो ।

वि.सं. २०६८ सालबाट मकवानपुर टेनिस संघको प्राविधिक सहयोग र नेपाली सेनाको आयोजनामा हेटौंडामा संचालन हुँदै आइरहेको सामरी स्ल्याम टेनिस प्रतियोगिताले कोभिड-१९ महामारी लगायतका कारण निरन्तरता पाउन नसकेको हुँदा प्रतियोगितालाई निरन्तरता दिँदै अझ बृहद र परिस्कृत रुपमा संचालन गर्न यो प्रतियोगिता शुरु गरिएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.