काठमाडाैं, बैशाख २८ः क्यानडा तथा चेक रिपब्लिक पठाईदिन्छु भनी रकम ठगी गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा सिन्धुली कमलामाई न.पा. वडा नं. ०४ ढकालगाउँ स्थाई घर भई हाल का.म.न.पा. वडा नं. १६ नयाँबजार बस्ने वर्ष ३४ को उद्धव नेपाल भन्ने सुवर्ण मग्राती रहेका छन् ।
उनले बाबुराम सापकोटा समेत ४ जनालाई वैदेशिक रोजगारीको लागि क्यानडा तथा चेक रिपब्लिक लगायतका देशहरूमा जानको लागि प्रतिव्यक्ति रु. १० लाख रुपैयाँ लाग्छ, सम्बन्धित देशहरूमा पुगेपछि प्रतिष्ठित अटोमोबाईल कम्पनीमा जनरल वर्करको काम लगाइदिन्छु मासिक रु. २ लाख सम्म तलव हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारेका थिए ।
पीडितहरुबाट पटकपटक गरी जम्मा रु. ५ लाख रुपैयाँ रकम लिई सम्पर्क विहीन भई ठगी गरेकोले वैदेशिक रोजगार विभागबाट पक्राउ गरी उपस्थित गराइदिन भनी पत्राचार भएकोमा विशेष प्रहरी टोलीले मग्रातीको खोजतलास गर्ने क्रममा का.म.न.पा. वडा नं. १६ नयाँबजारबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर, काठमाडौँ पठाईएको प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले बताए ।