काठमाडौँ, वैशाख २३ः स्थानीय बजारमा पछिल्लो पाँच वर्षको अवधिमा सुनको मूल्य प्रतितोला झन्डै दोब्बरले वृद्धि भएको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दै गएपछि त्यसको प्रभाव स्थानीय बजारमा पर्न गएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आर्थिक वर्ष २०७५ को वैशाख महिनामा प्रतितोला ५८ हजार तीन सय रुपियाँ रहेको सुनको मूल्य चालु आवको वैशाख महिनामा आएर प्रतितोला एक लाख ११ हजार आठ सय रुपियाँ पुगेको हो । पाँच वर्षको अवधिमा प्रतितोलामा ५३ हजार रुपियाँ पाँच सय रुपियाँले मूल्य बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका पूर्वअध्यक्ष तेजरत्न शाक्यले २०७६ मा विश्वमा महामारीका रूपमा फैलिएको कोरोना भाइरस र रुस–युक्रेन युद्धका कारण विश्व बजारमा सुनको मूल्य अकासिँदै गएको जानकारी दिए । विश्वमा फैलिएको कोरोना महामारीपछि विश्वका धनी लगानीकर्ता सुनमा आकर्षित भएकाले यसको मूल्य बढेको उनको भनाइ छ । सुरक्षित लगानीको क्षेत्र सुन मानिएकाले पनि यसतर्फ लगानीकर्ता आकर्षित हुँदा मूल्य बढ्न गएको उनको भनाइ छ । अमेरिका र चीनबीचको व्यापारयुद्धका कारणले गर्दा पनि सुनको मूल्यमा वृद्धि भएको उनको भनाइ छ । महासङ्घको तथ्याङ्कअनुसार पाँच वर्षमा सुनको मूल्य निरन्तरण उकालो लागेको हो ।

आर्थिक वर्ष २०७६ मा सुनको मूल्य प्रतितोला ५९ हजार पाँच सय रुपियाँमा कारोबार भएको सुनको मूल्य २०७७ मा एकै पटक तोलामा ३१ हजार पाँच सय रुपियाँले बढेर तोलामा ९१ हजार रुपियाँ पुगेको छ । यस्तै आर्थिक वर्ष २०७८ मा सामान्य घटेर ९० हजार तीन सय रुपियाँमा कारोबार भएको थियो । यस्तै २०७९ मा तोलामा आठ हजार तीन सय रुपियाँले बढेर ९८ हजार छ सय रुपियाँमा कारोबार भएको थियो । यस्तै २०८० वैशाख २१ मा तोलामा १३ हजार दुई सय रुपियाँले बढेर एक लाख ११ हजार आठ सय रुपियाँमा कारोबार भएको छ । आगामी दिनमा थप बढ्ने सङ्केत देखिएको व्यवसायीले बताएका छन् ।
सरकारले विदेशी मुद्रा सञ्चितिमा चाप परेको भन्दै सुन आयातको कोटा प्रतिदिन २० किलोबाट १० किलोमा २०७८ फागुनबाट घटाएको हो ।
कारोबार ३० प्रतिशतले घट्यो
सुनको मूल्य लगातार बढ्दै गएपछि सिजनमा पनि कारोबारमा कमी आएको छ । वैशाख महिना बिहेको सिजन भएकाले सुनको कारोबार बढ्नुपर्ने भए पनि यसपालि बढ्न नसकेको व्यवसायीको भनाइ छ । महासङ्घका अनुसार आर्थिक सङ्कटका कारण माग कम हुँदा सुनको कारोबार ३० प्रतिशतले घटेर ७० प्रतिशतमा झरेको छ ।
महासङ्घका अध्यक्ष माणिकरत्न शाक्यले मूल्य बढेकाले बजारमा सुनको कारोबार बढ्न नसकेको बताए । सिजनका बेला दैनिक ३० देखि ३५ किलो बिक्री हुने गरेकोमा हाल २० देखि २५ किलो मात्र कारोबार भएको उनको भनाइ छ । आर्थिक मन्दीका कारण उपभोक्ताको क्रयशक्ति बढ्न नसक्दा बजारमा सुनको माग नै कम छ, उनले भने, “अति आवश्यक पर्नेले पनि कम परिमाणमा सुन खरिद गरेर काम चलाउने गरेका छन् ।”
बजारमा सुनको मूल्य लगातार बढ्दै गएपछि दिनप्रतिदिन कारोबार घट्दै गएको उनको भनाइ छ । बजारमा अहिले नयाँ गहना खरिदसँगै पुराना गहना बिक्री गर्न आउने ग्राहकको भिडभाड लाग्ने गरेको उनले जानकारी दिए । सुनको कारोबार नभएपछि भर्खर खुला भएका साना पसल बन्द हुन थालेका छन् । व्यवसायीले सुनको मूल्य वृद्धिसँगै कारोबार घटेपछि सटर भाडा तिर्न नसक्ने अवस्था भएपछि सुन पसल बिक्री गरेर अन्य व्यवसाय गर्न थालेका छन ।
यसैबीच पाँच वर्षको अवधिमा चाँदीको मूल्यसमेत तोलामा दोब्बरले वृद्धि भएको छ । २०७५ सालमा प्रतितोला ७५५ रुपियाँ रहेको चाँदीको मूल्य बढेर हाल प्रतितोला एक हजार ४४५ रुपियाँ पुगेको महासङ्घले जनाएको छ । गाेरखापत्र अनलाइनबाट