डढेलोका कारण जोखिममा बस्ती

| 2023 Apr 25 | 07:24 am 1005

धनकुटा, वैशाख १२ः यही फागुन र चैतमा धनकुटाको महालक्ष्मी नगरपालिकाका १० घरमा आगलागी भयो। वनजङ्गलमा लागेको डढेलो बस्तीसम्म पुग्दा करिब दुई महिनाको अन्तरालमा महालक्ष्मी नपाका १० घरमा आगलागी हुन पुग्यो।

पछिल्लो समय वनजङ्गलमा आगलागी भइहाले बस्ती जोखिममा पर्ने महालक्ष्मी नपाका प्रमुख ध्रुवराज रायले बताए। “दुई महिनाको अन्तरालमा कैयौँ हेक्टर वन र १० घर जलिसकेका छन्। अझै धेरै जोखिममा छन्,” उनले भने, “वनमा डढेलो कसले लगाउँछ थाहा हुँदैन, लागिसकेको डढेलो नियन्त्रणमा लिन धेरै गाह्रो हुन्छ।”

त्यसो त पहिलेपहिले वनजङ्गलमा डढेलो नै नलाग्ने र लागिहालेमा नियन्त्रण गर्न सहज हुने गरेको उनको अनुभव छ। अहिले भने धेरै डढेलो लाग्ने र नियन्त्रण गर्न समस्या हुने गरेको छ। डढेलो र आगलागीका घटना बढ्नुमा बसाइँसराइ मुख्य समस्या रहेको उनको भनाइ छ। “बसाइँ सरेर गाउँ रित्तिएका छन्। घरसम्म जङ्गल पुगेको छ। जङ्गलमा दाउरा स्याउला बटुल्ने मान्छे छैन। त्यसैले डढेलो लागिहाले बस्तीतर्फ सोझिन्छ,” उनले भने।

जिल्ला दैवीप्रकोप उद्धार समितिले बर्सेनि तयार पार्ने जिल्ला विपत् प्रतिकार्य योजनामा उल्लेख गरिएअनुसार जिल्लाका सातै स्थानीय तह डढेलो र आगलागीको उच्च जोखिममा छन्। सबै स्थानीय तह जोखिममा पर्नुको कारण भने बस्तीसँग जोडिएका सामुदायिक वन नै हुन्। पछिल्लो समय बसाइँसराइका कारण ग्रामीण क्षेत्रका बस्ती वनजङ्गलसँग जोडिन पुगेका छन्। बसाइँ सरेर उजाडिएको ठाउँ जङ्गलमा परिणत हुँदा बाँकी रहेका बस्ती जङ्गलसँग जोडिन पुगेको चौबिसे गाउँपालिका–४ का दीपक दाहालले बताए।

डढेलो नियन्त्रणका लागि स्थानीय समुदायसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनासमेत आवश्यकताअनुसार परिचालन गर्ने गरिएको छ तर एक पटक सुरु भएको डढेलो नियन्त्रण गर्न निकै मुस्किल पर्ने गरेको छ। डढेलो लागिहाले बस्ती जोगाउन पहिलो प्राथमिकता हुने गरेको जिल्ला दैवीप्रकोप उद्धार समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमको भनाइ छ।

डढेलो नियन्त्रणका लागि स्थानीय तह र स्थानीयवासी नै सचेत भए मात्र घटनामा कमी आउने उनले उल्लेख गरे। चालु आर्थिक वर्षको चैतसम्म धनकुटामा करिब ६५ वटा आगलागीका घटना भएका छन्, जसमा सबैभन्दा बढी २७ डढेलोका मात्र घटना छन्। डढेलोका कारण धेरै बस्ती जोखिममा छन्।  गाेरखापत्र अनलाइनबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.