निजी स्कुलका बसलाई गाउँ प्रवेशमा रोक

रिपोर्ट नेपाल | 2023 Apr 24 | 08:12 am 1197

बर्दिबास, वैशाख ११ः निजी स्कुलका बसलाई गाउँ प्रवेशमा रोक लगाएपछि बर्दिबास–३, पाटु गाउँ तनावमा छ। आइतबार बिहान विद्यार्थी लिन निजी स्कुलका बसलाई गाउँ प्रवेशमा अवरोध गरेपछि गाउँलेबीच विवाद भएको थियो।

गाउँलेले अवरोध गरेपछि निजी स्कुलले तीनवटा बसलाई बीच सडकमा तेर्साएर बीपी राजमार्ग करिब ४५ मिनेट अवरुद्ध पारे। घटनास्थल पुगेको प्रहरीले सम्झाई बाटो खुलाएको थियो। प्रहरीले तत्काल आवागमन खुलाए पनि विवाद यथावत् रहेकाले कुनै पनि बेला राजमार्ग पुनः अवरुद्ध हुने सम्भावना नटरेको स्थानीयवासीको भनाइ छ।

निजी स्कुलकै विषयलाई लिएर बीपी राजमार्ग छेउको पाटु गाउँ अहिले दुई समूहमा विभाजित छ। एकथरी गाउँमा माध्यमिक विद्यालय हुँदाहुँदै बोर्डिङ स्कुलमा विद्यार्थी पढाउन नहुने पक्षमा छन्। अर्काथरी भने शिक्षा बालबालिकाको अधिकार भएकाले आफ्ना छोराछोरीलाई चाहेको जुनसुकै विद्यालयमा पढाउन पाउनुपर्ने अडानमा छन् तर यस विषयमा वडा कार्यालयले वैशाख ३ गते निजी स्कुललाई प्रतिकूल हुने गरी परिपत्र नै जारी गरेपछि जिल्लाकै शैक्षिक क्षेत्रमा तरङ्ग ल्याएको छ।

वडा कार्यालयले चार किल्ला नै उल्लेख गरेर जारी गरेको पत्रमा निजी विद्यालयका सवारीसाधनलाई प्रवेश निषेध गरेपछि विवाद र तनाव चुलिँदै गएको छ। वडा कार्यालयले एभरेस्ट बोर्डिङ, बर्दिबास बोर्डिङ, नोबेल एकेडेमी र सनसाइन बोर्डिङ स्कुलको नाममा बोधार्थ दिई तोकिएको क्षेत्रभित्र सवारीसाधन सञ्चालनमा रोक लगाएपछि यहाँ बहस, विवाद र टकराव सुरु भएको हो।

वडाध्यक्ष विराट विष्टले स्थानीय जनजागृत माध्यमिक विद्यालय पाटुका व्यवस्थापन समितिको लिखित अनुरोधमा आफूले त्यस्तो पत्र जारी गरेको बताए। अभिभावकका अनुसार गाउँको सामुदायिक विद्यालयमा पढाइ राम्रो नभएपछि सय जति विद्यार्थी गौरीडाँडा र बर्दिबासका निजी स्कुलमा पढ्दै आएका छन्। ती विद्यार्थीलाई गाउँकै स्कुलमा भर्ना गर्नका लागि दबाब दिन वडा कार्यालय, विद्यालय व्यवस्थापन समिति र केही गाउँलेले निजी स्कुलका सवारीलाई गाउँ प्रवेशमा रोक लगाएपछि विवाद चर्किएको हो।

समाजको सर्वसम्मत निर्णयले बोर्डिङ स्कुलको गाडी प्रवेशमा रोक लगाउने निधोमा पुगेको व्यवस्थापन समितिका अध्यक्ष भूबहादुर विश्वकर्माको दाबी छ। ती बोर्डिङले सामुदायिक विद्यालयको गलत प्रचार गरेर विद्यार्थी अभिभावक भड्काउने गरेको उनको आरोप छ। विद्यार्थी बोक्ने नाममा बस्ती पसेका गाडीका लस्करले धुलो, धुवाँ उडाएर वायु प्रदूषणदेखि ध्वनि प्रदूषणसम्मले गाउँले आतङ्कित भएको उनको अर्को आरोप छ। सामाजिक दबाबमा बोर्डिङ स्कुलको गाडीलाई गाउँ प्रवेशमा रोक लगाइएको उनले स्पष्ट पारे।

तर गाउँकी इन्दिरा कार्की, सुरेश पौडेल, कृष्ण खड्का, कमला कार्की, सुजाता खड्का जस्ता अभिभावक सामुदायिक विद्यालयको पढाइ स्तरीय नभएकै कारण आफूहरूले महँगो शुल्क तिरेर निजी स्कुलमा छोराछोरी पढाउनु परेको बताए। “हाम्रा सन्ततिलाई हामीले चाहेको जुनसुकै विद्यालयमा पढाउन पाउनुपर्छ, यो हाम्रो मौलिक अधिकार हो,” उनीहरूले भने, “गाउँको विद्यालयमा राम्रो पढाइ होस् अनि आफैँ विद्यार्थी आउँछन्, करकाप र जबरजस्ती गरेर बालबालिकाको भविष्यमाथि खेलवाड गर्न पाइँदैन।” स्थिति तनावपूर्ण हुँदै गएकाले शान्तिसुरक्षाको माग राख्दै घटनाबारे प्रशासनलाई जानकारी गराएको प्याब्सनका अध्यक्ष सरोज प्रधानले बताए। सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले कानुनको परिधि नाघेर नागरिकको शिक्षा अधिकार र निर्बाध आवागमनमा रोक लगाउने मनोगत निर्णय समाजमा लाद्न नपाइने बताए।  गाेरखापत्र अनलाइनबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.