दश देशमा नेपाली चियाको बजार खोजिँदै

रिपोर्ट नेपाल | 2023 Apr 22 | 05:50 pm 1161

इलाम, वैशाख ९ः विदेशी मुद्रा आर्जनमा देशको अर्थतन्त्रका लागि एक हिस्सा बन्दैगएको नेपाली चियाका लागि थप विदेशी बजारको खोजी थालिएको छ । विगतदेखि नै केही मात्रामा नेपाली चिया जाने गरेको जर्मनी, रुस, जापान, युएई, चीन, डेनमार्क, नर्वे, क्यानडा, स्वीजरल्याण्ड, नेदरल्याण्ड, अमेरिका लगायतका देशमा थप सम्भावित बजारको खोजी थालिएको राष्ट्रिय चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशक डा. विष्णुप्रसाद भट्टराईले बताए ।

‘चीनमा नेपाली चियाले गोल्ड मेडल पाएपछि त्यसको प्रभाव अहिले विश्व बजारमा परेको छ । सङ्केत राम्रो छ, मूल्य राम्रो छ’ डा. भट्टराईले भने, ‘यी देशमा हाम्रो चियाको ट्रेडमार्क पनि दर्ता गर्नुपर्छ भनेर वाणिज्य मन्त्रालयसँग कुरा गरिरहेका छौँ ।’ अहिलेसम्म नेपाली चियाको ट्रेडमार्क भारत र अमेरिकामा मात्र दर्ता गरिएको छ ।

‘पुराना बजार त छँदै छन्, अब नयाँ सम्भावित बजारमा प्रवेश गर्नुपर्छ भन्ने तयारी गर्दैछौं ।’ डा. भट्टराईले भने, ‘अब आउँदैगरेको राष्ट्रिय चिया दिवसले पनि यसलाई सघाउ पुग्नेछ । सरकारले वैशाख १५ गतेलाई राष्ट्रिय चिया दिवस मनाउँदैआएको छ ।

यस वर्ष वैशाख १५, १६ र १७ गते आयोजना गरिएको दिवसको काठमाडौंमा उद्घाटनपछि इलाममा ‘टी टेस्टिङ’ को कार्यक्रम तय गरिएको कार्यकारी निर्देशक भट्टराईले जानकारी दिए ।

इलाममा गर्ने तय भएको टी टेस्टिङ कार्य चिया उद्योगी, चिया सहकारी र किसानका लागि महत्त्वपूर्ण हुने केन्द्रीय चिया सहकारी सङ्घका महासचिव रविन राईले बताए । ‘विदेशी वायरहरू टी टेस्टिङका लागि इलामसम्म आइपुग्छन् । महासचिव राईले भने, ‘त्यति मात्र होइन, विदेशीले चियाको बोटमै पुगेर हरियो पत्ती टिप्न रुचाउने गरेकाले पनि किसानले उत्पादन गरेको अर्गानिक चियाको अवसर महत्त्वपूर्ण छ ।’ साभार गाेरखापत्र अनलाइनबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.