दिल्लीको अदातलमा गोली चल्दा एक महिलाको मृत्यु

रिपोर्ट नेपाल | 2023 Apr 21 | 01:08 pm 1353

नयाँ दिल्ली, बैशाख ८: भारतको राजाधानी नयाँ दिल्लीस्थित एक अदालत परिसरमा गोली चलेको छ। शुक्रबार बिहान नयाँ दिल्लीस्थित  साकेत जिल्ला अदालत परिसरमा गोली चल्दा एक महिलाको मृत्यु भएको छ।

आक्रमणकारीले महिलालाई गोली हानेर फरार भएका छन्। वकिलको भेषमा आएका आक्रमणकारीले महिलालाई ताकेर गोली हानी हत्या गरेका हुन्। कडा सुरक्षाबीच गोली चलेपछि यहाँ भागभाग मच्चिएको छ।

अदालत परिसरमा भीडभाड भएको समयमा ती आक्रमणकारी भित्र प्रवेश गरेको बताइएको छ। समाचारमा बताइएअनुसार आक्रमणकारी वकिलको पोशाकमा अदालत प्रवेश गरेर महिलामाथि चार गोली प्रहार गरेका थिए। महिलाको पेट तथा शरीरको अन्य भागमा चोट लागेको थियो। लगत्तै ती महिलालाई उपचारका लागि स्थानीय अस्पतालमा पुर्‍याइएको थियो।

आरोपितको पहिचान भने खुलेको छ। आरोपित र मृतक महिलाबीच आर्थिक लेनदेनमा विवाद भएको बुझिएको छ। आर्थिक लेनदेनकै विषयमा विवाद  हुँदा महिलाको हत्या भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ। घटनाबारे प्रहरीले अनुसन्धान थालेको छ।

उनीसँग अरू कोही आएका थिए वा उनी एक्लै आएका थिए,यसबारे दिल्ली प्रहरीले कुनै जानकारी दिएको छैन। तर,अदालतको सुरक्षातालाई लिएर धेरैले प्रश्न खडा गरेका छन्।

यसअघि २२ अप्रिल २०२२ रोहिणी अदालतमा गोली चल्दा दुईजना वकिलको मृत्यु भएको थियो। त्यसअघि सेप्टेम्बर २०२१ मा पनि सोहो अदालतमा गोली चलेको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.