पाहुना पर्खंदै घलेल होमस्टे

रिपोर्ट नेपाल | 2023 Apr 07 | 07:05 am 1385

कास्की, चैत २४ः माछापुच्छ्रे गाउँपालिकामा रहेको घलेल गाउँ पर्यटकीय दृष्टिकोणले प्रचुर सम्भावना बोकेको गाउँ हो । माछापुच्छ्रे  हिमाललाई नजिकबाट नियाल्न सकिने उक्त गाउँ सम्भावना हुँदाहुँदै पनि ओझेलमा छ । घलेलमा होमस्टे सञ्चालन भए पनि प्रचारप्रसारको उचित अभावले गर्दा पर्यटक आगमनमा कमी भएको स्थानीयवासी बताउँछन् ।

घलेल सामुदायिक हामेस्टे सचिव सुनकुमारी गुरुङले स्थानीय व्यक्तिकै कमजोरीका कारण पछाडि पर्नु परेको बताइन् । “ल्वाङ र घलेल एकैसाथ होमस्टे सञ्चालन भएको हो । ल्वाङ चिया बगानले गर्दा निकै अगाडि पुग्यो,” उनले भनिन्, “तर, घलेल जनको त्यहीँ छ । यहाँको कमजोरी भनेको हुनेखानेहरू बसाइ सरेर सहर जानु हो । नसक्ने व्यक्तिले मात्र होमस्टे सञ्चालन गर्छु भनेर पनि सकिँदो रहेनछ ।”

उनका अनुसार अहिले घलेलमा नौ घरमा होमस्टे सञ्चालनमा छन् । जसमा ६० को हाराहारीमा पाहुना राख्न सक्ने क्षमता छ । “आफ्नै घरबासमा चार÷पाँच बेडबाट होमस्टे सुरु भएको हो । प्रचारप्रसारको निकै खाँचो छ । यहाँ आएर हेर्नलायक चिज धेरै भए पनि प्रचार गर्न नसक्दा ओझेलमा पर्यौँ,” सचिव गुरुङले भनिन् । माछापुच्छ्रे  गाउँपालिका–८ का वडाध्यक्ष राम गुरुङले घलेल गाउँलाई प्रचारको आवश्यकता रहेको बताए । “यहाँको भ्यु निकै राम्रो छ । नेपाली चलचित्र थुप्रै सुटिङ हुने गरेको यस ठाउँबाट मर्दी हिमाल जान सकिन्छ,” उनले भने, “तारेवाराही मन्दिर र महागुरु गुफा यहाँका अर्को आकर्षक हुन् । यिनीहरूको आफ्नै महत्त्व छ । यसलाई उजागर गर्न आवश्यक छ ।”

माछापुच्छ्रे  गाउँपालिका अध्यक्ष मीनबहादुर गुरुङले गाउँपालिकालाई पर्यटकीय गाउँ बनाउने उद्देश्य लिएको बताए । उनले कार्यपालिकाको १६औँ बैठक पर्यटकीय स्थल बनाउनका लागि आवश्यक पूर्वाधारको विकास गर्ने निर्णय भएको सुनाए ।

“यही बाटो हुँदै आन्तरिक तथा बाह्य पर्यटक सिधै मर्दी हिमाल पुग्ने गर्छन् । पोखराबाट आएर एक रात घलेल बसेर जाने व्यवस्था गर्न आवश्यक छ,” उनले भने, “मर्दी हिमालमा बाक्लो सङ्ख्यामा पर्यटक जाँदा घलेल छायामा पर्न गएको छ । आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन आवश्यक कदम चाल्ने तयारी भइरहेको छ ।” गाेरखापत्र अनलाइनबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.