खानेपानी समस्या समाधान गर्ने प्रमको प्रतिबद्धता

रिपोर्ट नेपाल | 2023 Apr 06 | 07:21 am 1297

सुनसरी, चैत २३ः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धरानमा लामो समयदेखि विद्यमान खानेपानी समस्याको दीर्घकालीन समाधानका लागि सङ्घीय सरकारको तर्फबाट सकारात्मक सहयोग हुने प्रतिबद्धता व्यक्त गरेका छन्। धरानको खानेपानी समस्या समाधानका लागि आफू सकारात्मक रहेको र सरकारको तर्फबाट आवश्यक बजेट विनियोजन गर्ने आश्वासनसमेत दिएका छन्।

धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङ राई र उपप्रमुख अइन्द्रविक्रम बेघासहितको टोलीले काठमाडौँमा बुझाएको ज्ञापनपत्र बुधबार ग्रहण गर्दै उनले सो प्रतिबद्धता व्यक्त गरेका हुन्। धरानमा खानेपानी समस्या समाधानका लागि सप्तकोशी नदीबाट पानी ल्याउन अध्ययन भइरहेको सन्दर्भमा प्रधानमन्त्री प्रचण्डले सो कार्यलाई मूर्त रूप दिन आवश्यक बजेट विनियोजन गर्ने प्रतिबद्धता व्यक्त गरे । उपप्रमुख बेघाका अनुसार प्रधानमन्त्रीलाई भेटेर आर्थिक वर्ष २०८०/८१ को बजेटमा धरानमा खानेपानी ल्याउने कार्यक्रम समावेश गर्न मागसहितको ज्ञापनपत्र बुझाइएको हो।

धरान उपमहानगरपालिकाले प्रधानमन्त्री प्रचण्डसमक्ष बुझाएको ज्ञापनपत्रमा धरानको खानेपानी समस्या समाधान गर्न अनेक प्रयास भए पनि दीर्घकालीन समस्या समाधान गर्न सप्तकोशीको पानी ल्याउनुपर्ने आवश्यक रहेको उल्लेख छ। यस क्रममा सप्तकोशीको पानी ल्याउने अभियानअन्तर्गत सङ्घीय खानेपानी मन्त्रालयले डीपीआरसमेत तयार पारेकाले आवश्यक बजेट विनियोजन गर्न सरकारसमक्ष माग गरिएको उपप्रमुख बेघाको भनाइ छ।

धरानवासीका लागि आवश्यक खानेपानी व्यवस्था गर्ने क्रममा उपमहानगरपालिकाले अगाडि बढाएको बानियाटार जलासय निर्माणका लागि पनि सरकारसमक्ष बजेट विनियोजन गर्न माग राखेको छ। धरानको वडा नम्बर २० मा रहेको बानियाटारमा जलासय निर्माण गर्न सके वर्षाको समयमा सर्दु र खर्दु खोलामा भएको पानीलाई जलासय बनाई सञ्चित गर्न सकिने र यो पानीले कम्तीमा चार महिना खानेपानी पर्याप्त हुने ज्ञापनपत्रमा उल्लेख छ। यसका लागि करिब डेढ अर्ब रुपियाँको बजेट आवश्यक पर्ने उपप्रमुख बेघाले जानकारी दिए।

त्यसैगरी धरानमा खानेपानी संरचना सुधार र पम्प तथा मोटरलगायतका उपकरण खरिद र अन्य पूर्वाधार विकासका लागि पनि प्रधानमन्त्री प्रचण्डसमक्ष बजेट माग गरिएको छ। गाेरखापत्र अनलाइनबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.