चोरीको स्कुटर सहित ३ जना ट्राफिक प्रहरीको नियन्त्रणमा

| 2023 Apr 04 | 09:09 pm 757

काठमाडाैं, चैत २१ः चोरीको स्कुटर सहित भक्तपुरको सुर्यविनायक नगरपालिका ६ पाण्डुबजारबाट ३ जनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । काभ्रेपलाञ्चोकको तिमाल गाउँपालिका ७ घर भइ हाल भक्तपुरको सुर्यविनायक बस्ने १९ वर्षीय संजिव लामा, काभ्रेपलाञ्चोककै तिमाल गाउँपालिका ७ घर भइ हाल भक्तपुरको सुर्यविनायक बस्ने २३ वर्षीय नुर्भु लामा र काभ्रेपलाञ्चोकको पाँचखाल घर भइ हाल भक्तपुरको सुडाल बस्ने २३ वर्षकै कृष्णतामाङलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।

गत पुष १७ गते काठमाडौँको रातोपुलबाट हराएको बा ५४ प ९३ ३९ नम्बरको स्कुटर संजिवले भक्तपुरको सुर्यविनायक नगरपालिका ६ पाण्डुबजार सडकखण्डमा वास्तविक नम्बरमै चलाईरहेको पाईएपछि संजिवलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको थियो । सोधपुछको क्रममा उनले अन्य दुई जनाको संलग्नता रहेको समेत खुलाए पछि नुर्भु र कृष्णलाई पनि ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा आएका तिनै जनालाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागी आज प्रहरी वृत्त गौशाला पठाईएको छ । उक्त चोरी भएको स्कुटर उदयपुरको चौदण्डीगढी नगरपालिका १० घर भई हाल काठमाडौँको बानेश्वर बस्ने धन बहादुर राउतले काठमाडौँको रातोपुलबाट हराएको भनि काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा निवेदन दिएका थिए ।

उक्त निवेदनका आधारमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा रहेको पिडित सहायताईकाइबाट खटिएको ट्राफिक प्रहरी टोलीले चोरीको स्कुटर सहित तिनै जनालाई भक्तपुरको सुर्यविनायक नगरपालिका ६ पाण्डु बजारबाट नियन्त्रणमा लिएको हो ।

हराएका सवारी साधन खोजतलास र चोरी नियन्त्रण कार्य निरन्तर हुँदै आएता पनि स्वयं सवारी धनी पनि बिशेष चनाखोका साथै सजक हुनुपर्ने र सवारी चालक थप जिम्मेवार बनि सुरक्षित
स्थानमा मात्र पार्किङ गर्न, अतिरिक्त लक तथा सुरक्षाका उपायहरुको प्रयोग गर्न साथै मानिसहरूको आवत जावत नहुने एकान्त स्थानमा पार्किङ नगर्न काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले सम्पूर्णलाई अनुरोध गरेका छन् ।

सवारी साधन हराएमा ट्राफिक प्रहरीको हटलाईन नम्बर १०३, नेपाल प्रहरीको हटलाईन
नम्बर १०० मा फोन गर्न र नजिकको प्रहरी कार्यालयमा निवेदन दिन सकिने छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.