भोजपुर, चैत २०ः सडक कालोपत्रेको काम गुणस्तरहीन भएपछि भोजपुर बोखिमका स्थानीयले विरोध गरेका छन् । भोजपुर नगरपालिका–५ बोखिमबाट टेम्केमैयुङ गाउँपालिका जोड्ने सडकको कालोपत्रे गुणस्तरहीन भएको भन्दै स्थानीयले विरोध गरेका हुन् ।
ठेकेदार कम्पनीले लापरबाही ढंगले काम गरेको भन्दै स्थानीय आक्रोसितसमेत बनेका छन् । बोखिम–पिप्ले–खाल्डे–आहाले–दधिपुर–सल्लेनी सडक आयोजनाको साढे ४ किलोमिटर सडक कालोपत्रेमा गुणस्तरहीन भएको स्थानीयले आरोप लगाएका हुन् ।
सडकलाई गुणस्तरीय तवरबाट निर्माण गर्न पटक÷पटक भने पनि निर्माण कम्पनीले बेवास्ता गरेको स्थानीयको भनाइ छ । निर्माणको क्रममा गुणस्तरहीन सामग्रीको प्रयोग भएको स्थानीयबासी तथा भोजपुर नगरपालिका–५ बोखिमका वडासदस्य निरकुमार फुँयालले बताए ।
‘सडक कालोपत्रेको काममा लापरबाही गरिएको छ,’ फुयाँलले भने, ‘कामलाई गुणस्तरीय ढंगले गर्नभन्दा पनि निर्माण कम्पनीका प्रतिनिधिले वास्ता गरेनन् । सबबेस नै राम्ररी नलगाई अलकत्र हालेको अवस्था छ ।’
सडकको नाली, छेउभित्तामा पर्खाल तथा कजवेलाई व्यवस्थित नगरिकनै कालोपत्रे थालिएको उनले बताए । कालोपत्रे गर्नुअघि बिच्छ्याएको बेससमेत गुणस्तरहीन रहेको उनको भनाइ छ ।
‘राज्यको पैसा दुरुपयोग भएको छ । निर्माण कम्पनीले हतारमा गुणस्तरहीन कामअघि बढाएको देखिन्छ,’ उनले भने, ‘निर्माणका क्रममा भत्किएका नाली, पर्खाल तथा कजवे निर्माण नगरी कालोपत्रे थालिएको छ । बिच्छ्याएको बेस हातले कोट्याउँदा भत्किन्छ । यो कामलाई सुधार नगरे हामी थप काम गर्न रोक्छौं ?’
स्थानीयको गुनासोपछि जिल्ला प्रशासनले सो सडकको अनुगमन गरेको छ । पूर्वाधार विकास कार्यालयका इन्जिनियरसहित सडक अनुगमनमा पुगेका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले निर्माणलाई गुणस्तरीय बनाउन निर्देशन दिए ।
अनुगमनका क्रममा स्थानीयले गुनासो गरेबजोजिम नै सडक निर्माणमा लापरबाही गरेको पाइएको उनले बताए । ‘काम गुणस्तरहीन भएको स्थानीयको गुनासोपछि मैले दुईपटक अनुगमन गरें,’ उनले भने, ‘अनुगमन गर्दा स्थानीयले भनेझैं सडकमा राम्रो काम भएको देखिएन । राज्यको रकम सही ढंगले सदुपयोग हुनुपर्छ । स्थानीय नागरिकले उठाएको सवाल उचित छ । सबैले यसरी नै आफ्नो क्षेत्रको विकासमा ध्यान दिने हो भने धेरै कुरामा परिवर्तन ल्याउन सकिन्छ ।’
अनुगमनका क्रममा निर्माण व्यवसायीका प्रतिनिधि भने उपस्थित थिएनन् । कामलाई गुणस्तरीय तवरबाट गर्न स्थानीयले सुझाव दिँदासमेत निर्माण कम्पनीले बेवास्ता गरेपछि स्थानीय आक्रोसित भएका छन् । सडकमा बिच्छ्याएको सवबेसमा गुणस्तरहीन सामग्री प्रयोग गरेर कालोपत्रेलगायतको स्थानीयको आरोप छ । अनुगमनमा कम्पनीका प्रतिनिधि नआएपछि स्थानीयले उठाएका सवालको विषयमा जानकारी लिन फोन गर्दा कम्पनीका प्रतिनिधि राम पौडेलले फोन उठाएनन् ।
समस्याको समाधानमा लाग्नुभन्दा पनि निर्माण कम्पनीको प्रतिनिधि सम्पर्कहीन बन्ने गरेको स्थानीयको भनाइ छ । निर्माणका क्रममा भत्किएका नाली, कजवेलगायतको मर्मत नगरी कालोपत्रे हालेको देखिएको छ । कामलाई गुणस्तरीय तवरबाट गराउनेमा कम्पनीको ध्यानाकर्षण गराउने इन्जिनियरले बताएका छन् । सबबेसको काम भइरहेकाले अब पहिलो बेस र दोस्रो बेसको काम गर्न बाँकी रहेको इन्जिनियरको भनाइ छ । निर्माणमा केही त्रुटि देखिए पनि स्थानीयले भने जस्तो गुणस्तरहीन काम नभएको इन्जिनियर आरएन सुवेदीले बताए ।
‘आफ्नो क्षेत्रमा भइरहेको काम गुणस्तरीय बनाउन स्थानीयले देखाएको चासो स्वागतयोग्य छ,’ उनले भने, ‘हामीले अहिले प्राइम कोडको काम अनुगमन गरिरहेका छौं । यहाँ देखिएका कमजोरी सुधार गरेर बाँकी कामलाई थप गुणस्तरीय बनाउन ध्यान दिन्छौं ।’
सडक ग्रामीण सडक सञ्जाल सुधार आयोजनाअन्तर्गत भ्याटसहित ९ करोड ७२ लाख १७ हजार ५ सय ३४ रुपैयाँ लागतमा कालोपत्रे थालिएको हो । रौताहा–रामसागर बिल्डर्स जेभी काठमाडौंले २०७८ साल भदौमा सम्पन्न गर्नेगरी काम जिम्मा लिएको थियो । तर, तोकिएको अवधिमा काम सम्पन्न नभएपछि त्रुटि सच्याउने अवधि एक वर्ष थप गरिएको छ । राजधानी दैनिकबाट