अधिकांश पालिका निमित्तका भरमा

| 2023 Apr 01 | 07:58 am 1233

सर्लाही, चैत १८ः सर्लाहीका अधिकांश स्थानीय तह दरबन्दीअनुसार प्रमुख प्रशासकीय अधिकृत नहुँदा निमित्तको भरमा चलेका छन्।

उपसचिवको दरबन्दी भएका यहाँका अधिकांश नगरपालिकामा शाखा अधिकृत र प्राविधिकतर्फका कर्मचारीले निमित्त प्रमुख प्रशासकीय अधिकृत भएर पालिका चलाइरहेका छन्। उपसचिवको दरबन्दी रहेका ११ नगरपालिकामध्ये लालबन्दी नगरपालिकामा उपसचिव तारनाथ लुइटेल, ईश्वरपुर नगरपालिकामा उपसचिव हीराकाजी श्रेष्ठ, हरिवन नगरपालिकामा उपसचिव सुरेन्द्र प्रधान, मलङ्गवा नगरपालिकामा उपसचिव गेहनाथ गौतम र हरिपूर्वा नगरपालिकामा उपसचिव वसन्त न्यौपाने मात्रै दरबन्दीअनुसार कार्यरत छन्।

गोडैता, बलरा, कविलासी, हरिपुर र बागमती नगरपालिकामा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शाखा अधिकृतलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएर खटाएको छ। गोडैता नगरपालिकामा प्राविधिक इन्जिनियर रमेशप्रसाद यादवले प्रमुख प्रशासकीय अधिकृतका रूपमा काम गर्दै आइरहेका छन्।

मन्त्रालयले पठाएका सङ्घका उपसचिव तथा शाखा अधिकृत स्थानीय पालिकामा बस्न नमानेका कारण धेरै पालिकामा इन्जिनियर, शिक्षा अधिकृत, जनस्वास्थ्यका हेल्थ असिस्टेन्ट, कृषि र भेटनरीका जेटीएले निमित्त प्रमुख प्रशासकीय अधिकृत भएर काम गरिरहेका छन्। बरहथवा नगरपालिकामा शिक्षाका उपसचिव मदनकुमार थापाले प्रमुख प्रशासकीय अधिकृतका रूपमा काम गर्दै आइरहेका छन्।

शाखा अधिकृतको दरबन्दी भएका गाउँपालिकामध्ये चक्रघट्टा, चन्द्रनगर र ब्रह्मपुरी गाउँपालिकामा मात्रै शाखा अधिकृतले जिम्मेवारी पाएका छन्। अन्य बाँकी छ पालिकामा भने स्वास्थ्य र आयुर्वेदका कर्मचारीले निमित्त प्रमुख प्रशासकीय भएर काम गरिरहेका छन्।

बसबरिया गाउँपालिकामा आयुर्वेदका चुनचुनप्रसाद यादव, रामनगरमा आयुर्वेदकै कृष्णकुमार साह, कौडनामा स्वास्थ्यका शम्भुप्रसाद यादव, धनकौलमा स्वास्थ्यकै कृष्णप्रसाद साह, विष्णुमा पनि स्वास्थ्यकै सञ्जिव सापकोटा र पर्सा गाउँपालिकामा अधिकृत छैटौँ सुरेशकुमार यादवले निमित्त प्रमुख प्रशासकीय अधिकृत भएर काम गर्दै आइरहेका छन्। नागरिक समाजका अगुवा रजनीकान्त झाले धेरैजसो पालिकाका जनप्रतिनिधिले मनोमानी गर्न सहज हुने भएपछि आफू निकटका कर्मचारीलाई निमित्त प्रमुख प्रशासकीय अधिकृत बनाएर पालिका चलाइरहेका बताए।

विशेष गरी जिल्लाको दक्षिणी भेगका पालिकामा राजनीतिक खिचातानीले गर्दा प्रमुखमा प्रमुख अधिकृत बस्नै मान्ने गरेका छैनन्। धनकौल गाउँपालिकाका अध्यक्ष रामआश्रय साहले मन्त्रालयले दरबन्दीअनुसार कर्मचारी नपठाउँदा पालिका सञ्चालनका लागि स्वास्थ्यकै कर्मचारीलाई भए पनि निमित्त प्रमुख प्रशासकीय अधिकृत बनाएर काम गर्नुपरेको बताए। मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृत नपठाइदिने र पालिकाले पनि भएकै कर्मचारीलाई निमित्त नतोके योजना सञ्चालन नै नहुने अवस्था रहेकाले यस्तो विकल्प खोज्नु परेको जनप्रतिनिधिहरूको तर्क छ।  गाेरखापत्र दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.