कास्की, चैत १७ः पोखराबाट गत महिना बेपत्ता भएकी ४४ वर्षीय शान्ति श्रेष्ठको हत्यामा संलग्न अभियुक्तलाई तनहुँ प्रहरीले सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको पाँचखाल–५ घर भई पोखरा घारीपाटन बस्ने ३५ वर्षीय चित्र भनिने प्रकाश सुनार रहेका छन् । शान्तिले सापटी लिएको १० हजार रुपैयाँ नतिरेपछि प्रकाशले शान्तिको हत्या गरे शव पानी ट्यांकीमा लुकाएको प्रहरीले जनाएको छ ।
काभ्रेपलाञ्चोकको पाँचखाल ५ घर भई हाल पोखरा–३३, बाघमारामा बस्दै आएकी शान्तिका पतिको पाँच वर्षअघि मृत्यु भएको थियो । पोखरा अमरसिंह चोकमा फलफूलको व्यापार गर्ने गर्थिन् । गएको २१ फागुनमा उनी बेपत्ता भएकी थिइन् । एक्कासि बेपत्ता भएपछि खोजी भए पनि पत्ता लाग्न सकेको थिएन । उनको परिवारले ६ चैतमा जिल्ला प्रहरी कार्यालय कास्कीमा खोज तलासका लागि निवेदन दिएका थिए ।
प्रहरीले खोजी कार्य जारी राख्दै गर्दा सोमबार तनहुँको म्याग्दी गाउँपालिका–४ मनहरिस्थित पिपलटार खानेपानी उपभोक्ता समितिको खानेपानी ट्यांकीभित्र फेला उनको शव फेला परेको थियो । घरघरमा वितरण गरिएको खानेपानी पिउन नमिल्ने गरी दुर्गन्धित भएपछि उपभोक्ताले गुनासो गरेपछि खाने पानीको ट्यांकी खोलेर हेर्दा शव भेटिएको थियो ।
खानेपानीको ट्यांकीभित्र उनको क्षतविक्षत अवस्थामा थियो आफन्तले हातको दागको आधारमा शान्तिको शव भनेर सनाखत गरे ।
जिल्ला प्रहरी कार्यालय तनहुँले हत्याको अनुसन्धान गर्ने क्रममा प्रकाशले हत्या गरेर खाने पानी ट्यांकीभित्र शव फालेको पत्ता लगाएको तनहुँ प्रहरी प्रमुखप्रहरी उपरीक्षक अवदेश विष्टले बताए । सापटी दिएको रकम फिर्ता नगरेपछि हत्या गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको एस पी विष्टको भनाइ ।
हत्यापछि महिलासँग भएको गरगहना र मोबाइल प्रकाशले लुकाएका थिए । गहना पोखरा महेन्द्रपुलको एक सुनचाँदी पसलमा र बिक्री गरेको प्रहरीले पत्ता लगाएको छ । सुनचाँदी पसलका सञ्चालक रविनकुमार गहतराजलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवै जनालाई ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक विष्टले जानकारी दिए ।
दुई वर्षअघि भएको चिनजान
अनुसन्धान विवरणअनुसार शान्ति र प्रकाशको दुई वर्ष अगाडि चिनजान भएको थियो । अमरसिंह चोकमा फलफूलको व्यापार गर्ने शान्तिसँग सवारी चालक प्रकाशको फलफूललगायतका खाद्यान्न ढुवानी गर्नेक्रममा चिनजान भएको हो । सम्बन्ध घनिष्ठ बन्दै गएपछि आपसी लेनदेन हुन थाल्यो । दुई महिनाअघि शान्तिले छोराको उपचारका लागि प्रकाशसँग १० हजार मागेकी थिइन् । प्रकाशले दिए पनि ।
जब प्रकाशले सापटी फिर्ता मागे छोरा बिरामी भएकाले तत्काल दिन नसक्ने भन्दै शान्तिले पैसा फिर्ता गरिनन् । त्यसपछि दुवैबीच मनमुटाव बढ्यो । २१ फागुनमा पैसा दिने भन्दै शान्तिले प्रकाशलाई खैरेनीटार लगेकी थिइन् । त्यहाँ विवाद भएपछि प्रकाशले इँटाप्रहार गरेर हत्या गरेको खुलेको छ । हत्याका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । राजधानी दैनिकबाट