काठमाडौं, चैत १४ः नेपाल टेलिभिजनमा १० तहकी कर्मचारी आरती चटौतले कार्यालयमा हाजिर मात्रै गरेर तलब थाप्ने गरेकी छन्। नेपाल टेलिभिजनको कार्यालय समयमा पुगेर हाजिर गर्ने र दिनभरी एनजीओको कार्यक्रमहरु धाउँदै बेलुका ५ बजे आएर हाजिर गरेर घर जाने गरेकी छन्।
पछिल्लो समय उनको यो दैनिकी भइसक्दा पनि कर्मचारी हेर्ने जिम्मेवारी पाएका फूलमान बलले भने उनलाई केही भन्न सकेका छैनन्। कार्यकारी अध्यक्ष समीरजंग शाह पनि मूकदर्शक बनिरहेका छन्। नेपाल टेलिभिजनको सञ्चालक समिति सदस्य रहेकी चटौतले आफ्नो राजनीतिक र एनजीओहरुको स्वार्थ पूर्ति गर्नका लागि कार्यक्रम सञ्चालन गरिरहेकी छन्।
नेपाल टेलिभिजनको विनियमावली अनुसार नेपाल टेलिभिजनको सञ्चालक समितिले कार्यक्रम सञ्चालन गर्न नपाउने प्रावधान रहेको भए पनि उनले भने राजनीतिक र एनजीओको स्वार्थ अनुसार अतिथि ल्याएर कार्यक्रम सञ्चालन गरिरहेकी छन्। यसरी नियमविपरीत कार्यक्रम सञ्चालन गरेको भन्दै नेपाल टेलिभिजन कर्मचारी संघ र नेपाल प्रेस युनियनले विरोध गरिरहेको छ।
एमालेलाई लेबि तिर्ने गरेकी चटौतलाई जोगाउनका लागि भोज विश्वकर्मा अध्यक्ष रहेको अवैधानिक रुपमा स्थापना गरिएको नेपाल कर्मचारी युनियनले भने उनको संरक्षण गरिरहेको छ। टेलिभिजनका अन्य कर्मचारीमाथि परेको अन्यायमा पनि पार्टी हेरेर व्यवहार गर्ने गरेको छ।
नेपाल टेलिभिजनको कर्मचारी विनियमावलीमा व्यवस्था नै नभएको पद सिर्जना गरि आरती चटौतलाई दिइएको छ। नेपाल टेलिभिजनको विनियमावलीमा नायब महाप्रबन्धक निमित्त दिने कुनै प्रावधान नै छैन। तर, तत्कालीन अध्यक्ष महेन्द्र विष्टले आफ्नो पार्टीको कार्यकर्ता भन्दै १० तहकी कर्मचारी चटौत र १० तहकै अर्का कर्मचारी चिन्तामणि बराललाई निमित्त नायब महाप्रबन्धको जिम्मेवारी दिइएको थियो। विधि र सुशासनका कुरा गर्ने अहिलेका कार्यकारी अध्यक्षले समीरजंग शाहले पनि उक्त निमित्त खोस्न सकेका छैनन्। महाप्रबन्धक फूलमान बलले टेलिभिजनभित्रै एउटा (ग्याङ) बनाएर निमित्त खोस्न नहुने भन्दै कार्यकारी अध्यक्षमाथि दबाब सिर्जना गरिरहेका छन्।
पछिल्लो समय सञ्चालक समितिमा जायज मुद्दामा पनि असहयोग गरेपछि महाप्रबन्धक बल र १० तहकी कर्मचारी चटौतसँग कार्यकारी अध्यक्ष आक्रोशित बनेको टेलिभिजन स्रोतले जानकारी दिएको छ।