सामाजिक सुरक्षाको लागि सरकार गम्भीर भएको मन्त्री विष्टको भनाई

| 2018 Aug 14 | 02:56 pm 2037

काठमाडौं, साउन २९: नेपाल सरकारको मन्त्री पदमा नियुक्ति भएसँगै नेपाली श्रमिकका विषयमा चिन्तित भएका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले अनौपचारिक क्षेत्रमा रहेका श्रमिकलाई सामाजिक सुरक्षाको दायरामा ल्याउँदै आधारभूत तहका जनतालाई सामाजिक सुरक्षाको प्रत्याभूति दिलाउन सरकार गम्भीर रहेको बताएका छन् ।

मन्त्री विष्टले उक्त कुरा मंगलबार इन्टरनेशनल ट्रेड युनियन कन्फ्ररिडेशन–एशिया प्यासेफिकद्वारा काठमाडौंमा आयोजित नेपालमा सामाजिक सुरक्षासम्बन्धी राष्ट्रिय छलफल कार्यक्रमलाई सम्बोधन गर्दा बताएका हुन् । सामाजिक सुरक्षा कार्यक्रमलाई बढीभन्दा बढी श्रमिकलाई समेट्ने गरी अगाडि बढाउन आवश्यक रहेको कुरा पनि मन्त्री विष्टले उक्त कार्यक्रममा बताएका थिए ।

मन्त्री विष्टले भने औपचारिक प्रतिष्ठान मात्र होइन, अनौपचारिक क्षेत्रमा ठूलो सङ्ख्यामा रहेका श्रमिकलाई सामाजिक सुरक्षाको दायरामा ल्याउने काम ज्यादै कष्टपूर्ण छ । सामाजिक सुरक्षा ऐनले केही व्यवस्था गरेको छ, अन्तर्राष्ट्रिय अभ्यासलाई समेत मनन गर्दै ऐनमा व्यवस्था गरिएका योजनाभन्दा थप क्षेत्रमा योजना निर्माण गर्न ध्यान दिनु आवश्यक रहेको बताएका छन् ।

रोजगारदाता, श्रमिक र तीनै तहका सरकारको समन्वयात्मक प्रयत्नमार्फत नै यस कार्यक्रमलाई प्रभावकारीरुपमा कार्यान्वयन गर्न सकिने विष्टको भनाइ थियो । दुई महिनाभित्र सामाजिक सुरक्षा कार्यक्रमलाई अगाडि बढाउन सरकारले युद्धस्तरमा तयारी गरिरहेको जानकारी दिँदै मन्त्री विष्टले कार्यक्रमले आर्थिक, सामाजिक हिसाबले पछि परेको समुदायलाई सामाजिक न्याय दिलाउन महत्वपूर्ण सहयोग पुर्याउने बताएका थिए ।

श्रमिक र श्रमिकका आश्रित परिवारलाई सामाजिक सुरक्षाको दायरामा ल्याउने योजनाका साथ सरकारले तयारी अगाडि बढाएको जानकारी दिँदै उनले अगाडी भने “श्रमिक, आश्रित परिवारका सदस्य दुर्घटना वा बिरामी पर्दा तथा बेरोजगार हुँदा परिवारमा हुने आर्थिक क्षति न्यूनीकरण गर्न सिङ्गो परिवारलाई कार्यक्रमको दायरामा ल्याउन आवश्यक छ ।”

सामाजिक सुरक्षा कोषमा योगदान गर्दा मात्र श्रमिकले सामाजिक सुरक्षा कार्यक्रमबाट लाभ प्राप्त गर्ने र त्यो अवस्था रहेन भने श्रमिकले लाभबाट वञ्चित हुनुपर्ने चुनौती देखापरेको उल्लेख गर्दै मन्त्री विष्टले सामाजिक सुरक्षा क्षेत्रमा छरिएर रहेका सबै कार्यक्रमलाई एकीकृत गर्न एकीकृत ऐनको तर्जुमा गर्ने तयारीमा लागेको जानकारी गराएका थिए ।

कार्यक्रम लागू गर्ने सन्दर्भमा चाहिने प्राविधिक जनशक्ति, स्रोतसाधन, पर्याप्तता, चेतना, जागरण, भावना, सामाजिक जवाफदेही तथा उत्तरदायित्वको अभाव रहेको बताउँदै मन्त्री विष्टले रोजगारदाता, श्रमिक, सरकार र सबै पक्षको समन्वयमार्फत नै यसको प्रभावकारीरुपमा कार्यान्वयन हुने विश्वास गरेका थिए ।

सामाजिक सुरक्षा कार्यक्रमलाई थप विस्तार र व्यवस्थित गर्दै लैजाने बताउँदै उहाँले भन्नुभयो, “कार्यक्रमले जनतालाई सम्मानजनक जीवनयापन गर्नका लागि आधार तयार गरेको छ, मानोवोचित जीवन बाँच्नका लागि आधार तयार गर्ने क्रममा कार्यक्रम महत्वपूर्ण जग बनेको छ ।”

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.