कुचो उच्च मूल्यमा

रिपोर्ट नेपाल | 2023 Mar 12 | 08:11 am 1253

इलाम, फागुन २८ः आर्थिक थेगभरका लागि भरपर्दो स्रोत हुँदै गएको कुचो यो वर्ष उच्च मूल्यमा बिक्री हुँदा इलामका किसान हर्षित भएका छन्। फागुनको अन्तिम सातामा आइपुग्दा अहिले १३० रुपियाँ प्रतिकिलोसम्म खरिद–बिक्री भइरहेको कुचोको यो मूल्य अहिलेसम्मकै उच्च हो।

कुचोको किनबेच हुने मुख्य यो याममा मूल्य भने विगत वर्षभन्दा निकै राम्रो भएको उद्योग वाणिज्य सङ्घ इलामका अध्यक्ष कृष्ण पौड्याल बताए। अम्लिसोको घाँसबाट उत्पादन हुने कुचो अन्ततः सरसफाइ अर्थात् कसिङ्गर बढार्न प्रयोग हुने गरेको छ। माघ महिनादेखि किसानले कुचो निकालेर बिक्री गर्ने गरेका छन्। यस पटक पनि माघ महिनामा एक सय रुपियाँदेखि ११० रुपियाँ प्रतिकिलोका दरले खरिद–बिक्री भएको कुचोले फागुन महिनामा भने राम्रो मूल्य पाएको अध्यक्ष पौड्यालको भनाइ छ।

“भारतमा कुचोको खपत राम्रो छ। कुचोको खरिद–बिक्री र निकासीमा कुनै समस्या नहुँदा पनि किसानले राम्रो मूल्य पाएका छन्,” पौड्यालले भने, गतवर्ष प्रतिकिलो ८० रुपियाँका दरले किसानले बिक्री गरेको कुचोको मूल्य उच्च हुँदा इलामका किसानलाई धेरै फाइदा मिलेको छ।

पौड्यालले इलामको बिल्याँटे बजारबाट मात्रै बर्सेनि दुई हजार क्विन्टल कुचो निकासी हुने गरेको बताए। उनका अनुसार इलामका एउटै किसानले ५० मनसम्म कुचो बिक्री गर्ने गरेका छन्।

विगत वर्षमा कुचोको मूल्य २० रुपियाँ प्रतिकिलोसम्म बिक्री भएको थियो। न्यून मूल्यका कारण किसानले कुचो उत्पादनमा ध्यान दिन छोडेका थिए। मूल्य बढेपछि किसानले गोदाममा थन्क्याएको कुचो निकालेर बिक्री गर्न थालेको मङ्गलबारे प्याङका किसान विष्णु आचार्यले बताए। “अघिल्लो वर्ष कोभिडका कारण भाउ नआउँदा कति त अम्लिसो नै उखेलियो, यो वर्ष चाहिँ कुचोको पनि भाउ राम्रो छ,” आचार्यले भने। अब अम्लिसो फेरि लगाउने सोच आएको छ। किसानले अम्लिसोलाई बहुउपयोगी वस्तुका रूपमा रोप्ने गरेका छन्। गाईबस्तुलाई घाँस खुवाउन, यसको डाँठ दाउरा बाल्न र फूल बेच्न हुने भएकाले किसान अम्लिसो खेतीप्रति आकर्षित पनि हुने गरेका छन्।

इलामबाट निकासी हुने कुचो झापाको धुलाबारी हुँदै भारतको सिलिगुडी, बेङ्लोरलगायतका सहरमा जाने गरेको छ। इलामबाट गएको कुचो धुलाबारीमा प्रशोधन गरग्रेडिङपछि मात्र निर्यात हुने गरेको छ। जिल्लाका फिक्कल, हर्कटे, बिल्याँटे, नयाँबजार, चिसापानी, मङ्गलबारे, दानाबारी, तीनघरेलगायतका बजार र गाउँमा कुचो बिक्री हुन्छ। सुम्बेक, सुलुबुङ, माईमझुवा, पञ्चकन्यालगायत जिल्लाका अधिकांश गाउँमा कुचो उत्पादन हुने गरेको छ। अझ, कन्याम र कोल्बुङका किसानले त अम्लिसोको कुचोसहित घाँस र डाँठलाई दाउराका रूपमा बिक्री गर्ने गरेका छन्। जिल्लाको साढे पाँच हजार हेक्टरमा अम्लिसो लगाइएको सरकारी तथ्याङ्क छ। गाेरखापत्र अलाइनबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.