पुग्यो खानेपानी सुविधा

रिपोर्ट नेपाल | 2023 Mar 10 | 07:52 am 1137

काभ्रे, फागुन २६ः खानेपानीको समस्या भोगिरहेका काभ्रेपलाञ्चोक जिल्लाको बेथानचोक गाउँपालिका–६, सिउरानीका बासिन्दालाई खानेपानी सुविधा उपलब्ध भएको छ । वर्षौंदेखि खानेपानीको अभाव झेलिरहेका स्थानीयवासी ‘एक घर, एक धारा’ कार्यक्रमबाट खानेपानीको सुविधा पाएपछि हर्षित बनेका छन् ।

नेपाल स्वास्थ्यका लागि पानी (नेवा)को प्राविधिक सहयोगमा गत भदौ महिनाबाट सिउरानी भन्ज्याङखर्क खानेपानी आयोजना सुरु भएको थियो । एक करोड ९३ लाख ६३ हजार २५७ रुपियाँको लागतमा निर्माण सम्पन्न भएको खानेपानी आयोजनाका लागि गाउँपालिकाको ४९ लाख २२ हजार ६४६, रोटरी क्लब बौद्धको ९२ लाख ७३ हजार ९४३, समुदायबाट छ लाख ९९ हजार र ४७ लाख ६७ हजार ६६७ रुपियाँ बराबरको श्रमदान भएको उपभोक्ता समितिका अध्यक्ष रामबहादुर तामाङले जानकारी दिए ।

आयोजनाबाट २२३ घरधुरीका एक हजार ३३७ जना प्रत्यक्ष लाभान्वित भएको उहाँले बताउनुभयो । बेथानचोक गाउँपालिका–६ का वडाध्यक्ष विष्णु तामाङले सिउरानीमा एक घर, एक धारा कार्यक्रमअन्तर्गत खानेपानी उपलब्ध भएपछि स्थानीय बासिन्दा खानेपानीको अभावबाट मुक्त भएको बताए। खानेपानीको व्यवस्था भएपछि पानी लिन खर्चिनुपर्ने समय आयआर्जनमा लगाउन सहयोग पुग्ने बताए । पाँच महिनामा सम्पन्न भएको सिउरानी भन्ज्याङखर्क खानेपानी आयोजनाको गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले उद्घाटन गरेका हुन् ।  गाेरखापत्र अनलाइनबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.