व्यासमा कृषकलाई मकैको बीउ वितरण

रिपोर्ट नेपाल | 2023 Mar 10 | 07:43 am 1421

तनहुँ, फागुन २६ः तनहुँको व्यास नगरपालिकाले कृषकलाई उन्नत जातको छ मेट्रिक टन मकैको बीउ वितरण गरेको छ । नगरपालिकाले ५० प्रतिशत अनुदानमा उक्त बीउ उपलब्ध गराएको हो ।

व्यासका चौधवटै वडाका कृषकलाई मकैको बीउ वितरण  गरिएको हो । कृषकलाई अरुण–२, रामपुर कम्पोजिट, मनकामना–३ लगायत जातको मकैको बीउ वितरण गरिएको व्यास कृषि शाखाका कृषि अधिकृत प्रतिमा बगालेले जानकारी दिए । प्रत्येक वडाबाट सिफारिस भइ आएका कृषकलाई उनीहरुले माग गरेको आधारमा बीउ उपलब्ध गराएको उनले बताए ।

“हालसम्म छ मेट्रिक टन बीउ वितरण गरिसकेका छौँ”, बगालेले  भने–‘बाँकी बीउ वितरण जारी छ ।” उन्नत जातको मकैको बीउको मूल्य प्रतिकिलो रु एक सय ३० देखि रु एक सय ५० कायम गरिएको छ । कृषकलाई व्यावसायिक खेतीतर्फ आकर्षित तथा आत्मनिर्भर बनाउने उद्देश्यले बीउमा अनुदान दिन थालिएको उनको भनाइ छ ।

व्यास नगरपालिकाले यसअघि चौधवटै वडाका कृषकलाई २२  मेट्रिक टन आलुको बीउ वितरण गरेको थियो । यसैगरी नगरपालिकाले ५० प्रतिशत अनुदानमा कृषकलाई मौरीका घारसमेत वितरण गर्न लागेको छ । एक सय कृषकलाई मौरीसहितको घार प्रदान गरिने कार्यालयले जनाएको छ । गाेरखापत्र अनलाइनबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.