जोमसोम, फागुन २१: मुस्ताङको जनआदर्श अमरसिंह माध्यमिक विद्यालयले विद्यार्थीमा कृषिका सैद्धान्तिक र व्यवहारिक विषय शिक्षा सिकाउँदै आएको छ।
विद्यालयमा पढ्ने विद्यार्थी सामुहिक खेतीपातीको काम गर्छन्। कृषि शिक्षकको निर्देशनमा उनीहरुले विभिन्न फलफूल तथा तरकारी लगाउने र गोडमेल गर्ने काम गर्छन्।
विद्यार्थीलाई फिल्डको कृषि तालिम दिएर शिक्षा दिँदा सिकाई प्रभावकारी भएको छ। जसले शिक्षक र विद्यार्थी दुवै उत्साहित छन्।

जनआदर्श विद्यालय २०१७ सालमा स्थापना भएको थियो। सुरुवाती निमावि तहको विद्यालयले २०३९ सालमा माध्यमिक तहको शैक्षिक पठन/पाठन गर्न पाउने अनुमती पायो।
मावि स्वीकृत भएको दोस्रो वर्षमै विद्यालयले कृषि प्राविधिक पढाई सञ्चालन गर्यो। मावि तहको कृषि शिक्षा संञ्चालन गरेको जनआदर्श विद्यालयले २०७३ सालदेखि प्लस टु सम्मको कृषि प्राविधिक शिक्षा दिन थालेको छ। यहाँ कृषि विषयमा प्लस टु उर्तीण विद्यार्थी कृषि विषयको ब्याचलर पढ्न पोखरा/काठमाडौँ जाने गरेका छन्। विद्यालयमा अहिले ८ जना कृषि प्राविधिक विषय पढाउने शिक्षक छन्।

जनआदर्श अमरसिंह मावि कोवाङले विद्यार्थीलाई व्यवहारिक र सैद्धान्तिक शिक्षा प्रदान गर्दैआईरहेको विद्यालयका प्रधानाध्यापक खेम गुरुङले बताए। अहिले यो विद्यालयमा कृषि विषयमा कक्षा ९ देखि १२ सम्म ७० जना विद्यार्थी छन् । विद्यालयमा कुल विद्यार्थी संख्या १६८ छ।
जनआदर्श विद्यालयको आफ्नै स्वामित्वमा ६४ रोपनी जग्गा छ। सोही ज्गामा विद्यार्थीले कृषि शिक्षा पढ्ने र प्रयोगात्मक काम गर्ने गरेका छन्। अन्नपूर्ण पाेस्टबाट