उर्जाको समुचित प्रयोग गर्न नसक्दा पृथ्वीको तामक्रम बढिरहेको छ

रिपोर्ट नेपाल | 2023 Mar 03 | 08:50 pm 1485

कृष्ण प्रसाद सापकोटा

उर्जाको परिभाषा ब्यापक छ । सजिलो भाषामा भन्नुपर्दा प्राणी बाँच्नका लागि आवश्यक पर्ने स्रोत या शक्तिलाई उर्जा भनिन्छ । उदाहरणका लागि हामीले स्वास प्रस्वास मार्फत लिने अक्सिजनले शरीरमा उर्जा उत्पादन गर्छ । त्यही उर्जाले हामी बाँचिरहेका हुन्छन् । हामीले पिउने पानी , खानेकुराहरु पनि उर्जाका स्रोत हुन् । यही उर्जाले हामी बाँचिरहेका छौं ।

यसैगरी सूर्य बिहान उदाउँछ , बेलुका अस्ताएको हामीले देखिरहेका हुन्छौ । जीवनका लागि आबश्यक पर्ने उर्जाको मुख्य स्रोत सूर्य हो भन्ने कुरा हाम्रा ऋषिमुनीहरुले थाह पाए , त्यसलाई पछि बैज्ञानिकहरुले पूष्टि गरे । तर सुर्यलाई भगवानका रुपमा पूजा गर्ने प्रचलन ऋषिमुनीहरुले थाह पाउनु भन्दा पनि निकै पुरानो हो । किनकी सूर्य नहुँदो हो त पृथ्वीमा जीवन संभव थिएन ।

मानिस चेतनशील प्राणी हो मानिसहरुले आफ्नो जीवन सहज बनाउनका लागि पृथ्वीमा उपलव्ध उर्जाका स्रोतहरु पत्ता लगाउँदै गए । यसलाई प्रयोग गर्दै लगे । उर्जाको स्रोतका रुपमा आगो पत्ता लगाए । आगो बाल्न दाउराको प्रयोग भयो । दाउरा भन्दा अझ सजिलो उर्जाको स्रोत खोजी गर्ने क्रममा कोइला पत्ता लगाए । कोइला भन्दा पनि अझै सजिलो उर्जा स्रोतका रुपमा पेट्रोलियम पदार्थ पत्ता लगाए । पानीको प्रयोग गरेर उर्जा निकाल्ने तरिका पत्ता लगाए । सूर्यबाट आएको ताप र प्रकाशलाई यन्त्रको माध्यमबाट प्रयोग गर्ने तरिका अपनाए । हुँदा हुँदा पारमाणुबाट उर्जा उत्पादन गर्ने प्रविधिको समेत विकास भइसकेको छ ।

हामी बिहान–बेलुकी खाना पकाउनका लागि आफ्नो चुलोमा दाउरा, गोवरका गुइँठा , कोइला बाल्छौं अथवा स्टोभ जलाउँछौं, हिटर तथा इन्डक्सन चुलो प्रयोग गछौं । त्यस्तै बेलुकी उज्यालोका लागि दियालो, मट्टितेलको टुकी अथवा बिजुली बत्ती बाल्छौं । यसरी दाउरा, मट्टितेल, बिजुलीबाट प्राप्त हुने शक्तिलाई नै ऊर्जा भनिन्छ । यसैगरी गाडी चलाउन प्रयोग हुने पेट्रोल र डिजेल, घट्ट र मिल चलाउन चाहिने पानी, बिस्कुन र लुगा सुकाउन चाहिने घामको ताप आदि ऊर्जाका अन्य स्रोतहरु हुन । अहिले त सूचना प्रविधिको युगले विश्वलाई नै एउटा गाउँ जस्तै बनाई सकेको छ । यो सबै उर्जाको उपयोग गर्ने मानिसको बुद्धिको चमत्कार हो । ढुंगे युगदेखि आजसम्म मानिसले जे जति प्रगति गरेका छन् त्यो उर्जाको प्रयोगबाट मात्रै संभव भएको हो ।

फ्रान्समा पछिल्ला वर्षहरुमा फलफुलका बोटबिरुवा माथि सौर्य उर्जाबाट बिजुली निकाल्ने फोटोभोल्टाइक प्लेटहरुको हार मिलाएर राख्ने प्रविधि निकै बढेको छ । जता बढी घाम ढल्क्यो उतै यि फोटोभोल्टाइक प्लेटहरु सूर्यमुखी फूल झैँ ढल्कन्छन् र बिरुवाका जरामा छायाँ पार्छन् । जसले गर्दा ६० प्रतिशत सम्म चिस्यान कायम राख्न सकिँदो रहेछ । हिउँ पर्दा यिनै प्लेटले विरुवा जोगाउँदो रहेछ । असिना पर्दा यिनै प्लेटले थेग्ने र फूल जोगाउँदो रहेछन । अनि यो फोटोभोल्टाइक प्लेट पनि किसानले राख्ने होइन रहेछ । बिजुली उत्पादन गर्ने कम्पनीले सित्तैमा राख्ने रहेछ । किसानलाई पनि फाइदा कम्पनीलाई पनि फाइदा ।

उर्जाका स्रोतहरु हाम्रा लागि जसरी बरदान बनेका छन् , यसको समुचित प्रयोग गर्न नसक्दा अभिसाप पनि बनेका छन् । उर्जाको समुचित प्रयोग गर्न नसकेकै कारण पृथ्वीको तामक्रम बढिरहेको छ । वातावरणीय विनास बढेको छ । यसैगरी उर्जाको स्रोतका रुपमा पेट्रोलियम पर्दार्थ तथा कोइलाको प्रयोग अत्यधिक छ । यसले एकातिर वातावरण प्रदुषण निम्त्याएको छ भने अर्कातिर पृथ्वीमा यसको भण्डारण सिमित छ । कुनै दिन सकिन्छ । सकिएको दिन के गर्ने ? जनजीवन ठप्प हुन्छ । त्यसैले पछिल्ला दिनमा बैज्ञानिकहरुले नविकरणीय उर्जाका स्रोत पत्ता लगाउने र प्रयोग बढाउने अभियान सुरु गरेका छन् ।

वातावरण प्रदुषण हुन नदिई प्रकृतिलाई यथावत जोगाएर राख्न सक्ने हो भने उर्जाका केही स्रोतहरु निरन्तर रुपमा प्राप्त भइरहन्छन् । यसरी निरन्तर रुपमा प्राप्त भइरहने अर्थात पृथ्वी स्वास्थ्य रहेसम्म कहिल्यै नरित्तिने उर्जास्रोतलाई नविकरणीय उर्जा भन्ने गरिन्छ । यस्ता प्रकारका उर्जा जति खपत गरे पनि न त भण्डार रित्तिने डर हुन्छ नत वातावरणमा खराब असर गर्दछ । तसर्थ यस प्रकारका उर्जा खपत आज प्रत्येक देशका सरकार, विशेषज्ञहरुले प्राथमिकता दिएका छन् ।

प्रयोगमा आइरहेका उर्जाका स्रोतहरुमा जैविक , जलशक्ति , सौर्यशक्ति वायूशक्ति , भू–गर्भिय उर्जा, समुन्द्री छाल उर्जा, समुन्द्री ताप , हाइड्रोजन , ब्याट्रि लगायत हुन् । जसमध्ये सौर्य उर्जा र बायु शक्ति उर्जाको प्रयोगलाई अति उत्तम मानिएको छ । किनकी यी उर्जाले न पृथ्वीलाई अस्वास्थ्य बनाउँछन् न कहिल्यै रित्तिन्छन् ।

जैविक उर्जा वनस्पति तथा जीवजन्तुको अवशेष,मलमुत्र आदिबाट प्राप्त हुने उर्जा हो । बायोमास, बिरुवा, शैवाल वा जनावरको फोहोरबाट बनेको कुनै पनि इन्धनलाई जैविक इन्धन भनिन्छ । पेट्रोलियम, कोइला, र प्राकृतिक ग्याँस जस्ता जीवाश्म ईन्धनहरूको विपरीत, जैविक इन्धनलाई नवीकरणीय ऊर्जाको स्रोतको रूपमा हेरिन्छ किनभने त्यस्ता फिडस्टक सामग्रीहरू सजिलै आपूर्ति गर्न सकिन्छ । पेट्रोलियम पदार्थ तथा कोइलाको तुलनामा जैव ईन्धनलाई सुविधाजनक विकल्प मानिएको छ ।
तर सौर्य , जलशक्ति तथा वायु शक्ति जत्तिको लाभदायी जैव उर्जा होइन । किनकी जैव उर्जाको भण्डार रित्तिने संभावना कम भए पनि यसले पृथ्वीलाई अस्वास्थ्य बनाउने संभावना भने रहन्छ । पृथ्वी अस्वस्थ्य भयो भने सौर्य, वायु तथा जलउर्जाको स्रोत पनि समाप्त हुने संभावना बढ्छ ।

उर्जाको विकल्प छैन
मानिसले आफ्नो दिमागलाई प्रयोग गरी उर्जाका स्रोतको विकल्प पत्ता लगाउँदै गएका छन् , तर उर्जाको विकल्प भने पत्ता लगाएका छैनन् । यति मात्रै होइन बैज्ञानिकहरुले उर्जाको विकल्प पत्ता लाग्ने संभावना पनि देखेका छैनन् ।
उर्जाका स्रोत जति धेरै उपलव्ध भए , अथवा उर्जाको स्रोतको जति धेरै समुचित प्रयोग भयो मानिसहरुले उतिधेरै प्रगति गर्ने कुरा अकाट्य सत्य हो ।
बैज्ञानिकहरुका अनुसार ढुंगे युगमा एक जना मानिसले वार्षिक करिव एक सय वाट उर्जा खपत गर्दथ्यो । मध्ययुगमा एक जना मानिसले बार्षिक करिव एक हजार वाट उर्जा खपत गर्दथ्यो । आज एक जना मानिसले औषत वार्षिक १० लाख वाट उर्जा खपत गर्ने अनुमान गरिएको छ । अझ विकसित देशहरुको उर्जा खपत निकै नै ठूलो छ ।

जुन देशमा प्रति व्याक्ति आय सबै भन्दा बढी छ , त्यो देशमा प्रतिव्याक्ति उर्जा खपत पनि सबै भन्दा बढी छ । त्यसलै उर्जा खपतको परिमाणलाई मानवीय विकास तथा आर्थिक आम्दानीको सूचक मान्ने गरिएको छ । यथार्थमा भन्नु पर्दा उर्जा खपत मानव विकासको एक विशिष्ट कडी हो । उर्जा खपतको स्वरुप हेरेर मानवीय विकासको आकलन गर्न सकिन्छ । तसर्थ उर्जा खपतलाई मानव विकासको एक विशिष्ट सुचाकांकको रुपमा लिने गरिन्छ ।

नेपालमा उर्जा उत्पादन तथा खपत

नेपालको करिव ७५ प्रतिशत मानिस ग्रामीण क्षेत्रमा बस्दछन् । ग्रामिण यस क्षेत्रका अधिकांश मानिसहरु परम्परागत उर्जा श्रोत जस्तै दाउरा, कृषिजन्य अवशेष एवं गोबर, गँुइठामा भर पर्दछन् । एक अनुमान अनुसार नेपालमा खपत हुने करिब ९० प्रतिशत उर्जास्रोत परम्परागत हुन् । परम्परागत उर्जाको अत्यधिक खपतका कारण एकातिर बन जंगलको फडानी भई भू–क्षय, बाढी पहिरोको प्रकोप दिन प्रतिदिन बढीरहेको छ भने अर्को तर्फ खेतवारीमा मलको रुपमा प्रयोग गरिने गोबर, कृषिजन्य अवशेष आदि उर्जाको रुपमा चुल्होमा बाल्दा मलको कमी हुन गई कृषि उत्पादनमा दिनानुदीन ह्रास भइ रहेको छ ।

नेपालमा खपत हुने विभिन्न उर्जास्रोतको माग हेर्दा करिब ७७ प्रतिशत दाउराले ओगटेको छ भने कृषिजन्य अवशेषले ३ दशमलव ६ प्रतिशत , गाईवस्तुको गोबरले ५ दशमलव ८ प्रतिशत अनि कोइलाले ३ प्रतिशत ओगटेको छ । यसैगरी पेट्रोलियम उर्जा स्रोतले ९ दशमलव ३ प्रतिशत र जलविद्युतले १ दशमलव ५ प्रतिशत हिस्सा ओगटेको छ ।

उर्जाका स्रोतको प्रयोगको अवस्थालाई हेर्ने हो भने नेपाल अझै पनि मध्ययुगमै छ । किनकी जलस्रोतको धनी देश नेपालले अहिले पनि करिव ७७ प्रतिशत उर्जा स्रोतका रुपमा दाउराको प्रयोग गरिरहेको छ । जलविद्युतीय उर्जाको प्रयोग जम्मा १ दशमलव ५ प्रतिशत छ । अझ यो भन्दा पनि ठूलो विडम्वना करिव १० प्रतिशत उर्जा स्रोतका रुपमा पेट्रोलियम पदार्थको प्रयोग हुन्छ । पेट्रोलियम पदार्थ नेपालको आफ्नो उत्पादन होइन ।
बार्षिक १० खर्ब रुपैंयाका हाराहारीमा राजश्व आम्दानी गर्ने नेपालले पेट्रोलियम पदार्थ आयतका लागि वार्षिक साँढे तीन खर्ब रुपैंया खर्च गर्छ ।
नेपालमा ८३ हजार मेगावाट जलविद्युत उत्पादन गर्ने क्षमताका नदीनाला रहेको विज्ञहरुको अनुमान छ । यसमध्ये ४२ हजार मेगावाट आर्थिक÷प्राविधिक दृष्टिकोणले उत्पादनयोग्य क्षमता मानिएको छ । हाल राष्ट्रिय विद्युत प्रणालीमा २५ सय ५५ मेगावाट बिजुलीको जडित क्षमता छ । अर्कोतर्फ, पेट्रोलियम पदार्थको आयात प्रत्येक वर्ष वृद्धि हुँदैछ। आर्थिक वर्ष २०७८÷७९ को तथ्यांकअनुसार नेपाल आयल निगमले ७ लाख २६ हजार किलोलिटर पेट्रोल, १७ लाख २३ हजार किलोलिटर डिजेल र १ लाख ५७ हजार किलोलिटर हवाई इन्धन आयात गरेको छ । यसको मूल्य वार्षिक ३ खर्ब रूपैयाँभन्दा माथि छ ।

नेपालमा सौर्य तथा वायु उर्जा उत्पादन हुने प्रसस्त संभावना रहेको भनिएको छ , तर उत्पादन नगन्य छ । नेपालमा सौर्य र वायु उर्जा उत्पादन गनै सकिन्छ भन्ने डिटेल अध्यायन भएको छैन । केही विज्ञहरुले गरेको मोटामोटी अध्ययनअनुसार नेपालमा वायुबाट ३ हजार मेगावाट र सौर्यबाट दुई हजार एक सय मेगावाट विद्युत उत्पादन गर्न सकिनेछ । वायु उर्जालाई परम्परागत रुपमा विभिन्न तरिकाबाट उपयोग गरिदै आएता पनि आधुनिक उपयोगको लागि ( हावा) मिलको पंखालाई हावाले घुमाएर विद्युत उत्पादन, पानी तान्ने तथा अन्य कुटानी पिसानी आदि गर्न सकिन्छ । नेपालमा यस किसिमको उर्जा श्रोतको विकास भर्खरै मात्र शुरु भएकोले नेपालमा यसको सम्भाव्यता कति छ भन्ने यकिन गर्न बाँकी नै छ तर मुस्ताङको कागवेनी क्षेत्रमा वायु उर्जाको राम्रो संभाव्यता भएको पत्ता लागेको छ ।

पृथ्वीको गर्भ भित्र रहेको उर्जालाई भू–गर्भिय उर्जा भनिन्छ । यो उर्जालाई नेपालमा परम्परा देखिनै तातो पानीको मूलको रुपमा प्रयोग गरिदै आएको छ । पृथ्वीको गर्भ भित्र भएको ताप पानीलाई वाफ बनाउन प्रयोग गरि सो वाफबाट विद्युत उत्पादन गरिन्छ । उच्च प्रविधिको आवश्यकता पर्ने हुनाले यस प्रकारको नविकरणीय उर्जाको उपयोग विकसित देशहरुमा सिमित रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.