वातावरण राम्रो भए मात्र पृथ्वीको स्वास्थ्य पनि राम्रो हुन्छ

रिपोर्ट नेपाल | 2023 Feb 28 | 10:34 pm 1241

कृष्णप्रसाद सापकोटा
अहिले विश्व एउटा यस्तो मोडमा उभिएको छ, जहाँबाट धेरै अस्तित्वहरू नामेट हुने खतरा छ । अस्ट्रेलियामा व्यापक रूपमा फैलिएको विनाशकारी डढेलो राम्रोसँग निभ्न नपाउँदै विश्व नोबल कोरोना भाइरस अर्थात् कोभिड– १९ को माहामारीले आक्रान्त भयो । हालसम्म पूर्ण नियन्त्रण हुन नसकेको र अहिले विभिन्न देशमा ब्यापक रूपमा फैलिएका मंकीपक्स जस्ता भाईरसको चुनौति त छँदै छ ।

यो चुनौति सँगै युरोपका विभिन्न देशमा निकै लामो खडेरी प¥यो । खडेरी सकिन पाउँदा नपाउँदै अतिबृष्टिका कारण ठूलो धनजनको क्षति भयो । आखिर किन उत्पन्न भए यस्ता चुनौतिहरु ? भन्ने प्रश्नको उत्तर खोज्न हामी बसेको ठूलो घर अर्थात पृथ्वीको स्वास्थ्य अवस्थाबारे बुझनै पर्ने हुन्छ ।

पृथ्वी जस्तै ढुंगा तथा माटोले बनेका ग्रह, उपग्रह तथा ताराहरुको संख्या यो व्रह्माण्डमा यति ठूलो छ की, बैज्ञानिकहरुले समेत अहिलेसम्म हिसाव निकाल्न सकेका छैनन् । तर पृथ्वीमा मात्रै जीवन छ , अरु ग्रहमा जीवन छैन । पृथ्वीमा किन जीवन छ ? अरु ग्रहमा जीवन किन छैन ? किनकी जीवनका लागि आवश्यक वातावरण पृथ्वीमा छ , अरु ग्रहमा छैन ।

जीवनका लागि आवश्यक वातावरण भनेको सन्तुलित वायुमण्डल , ताप, प्रकाश, गुरुत्वबल लगायत हुन् । यदी वायुमण्डलको सन्तुलन विग्रियो , तापको सन्तुलन विग्रियो , प्रकाश र गुरुत्वबलको सन्तुलन विग्रियो भने पृथ्वीमा पनि जीवन संभव हुँदैन ।

बास्तवमा पृथ्वी एक जीवित शरीर सरह हो । पृथ्वी भनेको अनगिन्ती जीवको आश्रय र परिपालक ग्रह हो । जसरी रोगी जीव जन्तुहरुले आफ्ना सन्ततीलाई स्याहार सुसार गर्न सक्दैन, त्यसरी नै पृथ्वी रोगी भयो भने जीवलाई आश्रय दिन तथा परिपालन गर्न सक्दैन । वातावरण राम्रो भए पृथ्वीको स्वास्थ्य पनि राम्रो हुन्छ , वातावरण विग्रियो भने पृथ्वीको स्वास्थ्य पनि विग्रन्छ ।

जसरी जीवको शरीरमा कुनै रोगले आक्रमण ग¥यो भने लक्षणका रुपमा तापक्रम बढ्छ , जसलाई ज्वरो आएको भन्ने गरिन्छ । पृथ्वीको हकमा पनि त्यही नियम लागु हुन्छ । पृथ्वीमा पनि वातावरण विग्रिना साथ तापक्रम वृद्धिको लक्षण देखा पर्छ । पछिल्ला केही वर्षहरुमा पृथ्वीले यो लक्षण देखाइ सकेको छ ।

वैज्ञानिक अध्ययनका अनुसार, औद्योगिक क्रान्ति शुरू हुनुअघि सन् १८५० तिर वायुमण्डलको औसत तापक्रम १४ डिग्री सेल्सियस थियो, अहिले यो १५ दशमलव १ डिग्री पुगेको छ । अर्थात्, समग्र वायुमण्डलको औसत तापक्रम १ दशमलव १ डिग्री बढेको छ । झट्ट सुन्दा १ दशमलव १ डिग्री त हो भन्ने लाग्न सक्छ, तर यो ठूलो परिवर्तन हो । किनकी ३७ डिग्री सेल्सियस मानिसको शरीरको तापक्रम हो , तर १ डिग्री बढेर ३८ पुग्ना साथ मान्छेले ज्यादै अप्ठेरो महशसुस गर्छ ।

शरीरको तापक्रम एक डिग्री सेल्सियस बढ्ना साथ मान्छेको सम्पूर्ण जीवन चर्या नै विथोलिन्छ । पृथ्वीको हकमा पनि यही हो । वायुमण्डलमा अथाह तापशक्ति थपिएको कारण औसत तापकम १ दशमलव १ डिग्री माथि गएको हो । पृथ्वीको तापक्रम १ डिग्री सेल्सियस मात्रै बढ्दा समुन्द्रको सतह कति माथि उठ्छ ? हिम रेखाको उचाई कति बढ्छ ? अक्सिजनको आपुर्ति कति घट्छ ? हानिकारक ग्याँसको वृद्धि कति हुन्छ ? लगायतका प्रश्नको उत्तर निकै कहाली लाग्दो छ ।

वायुमण्डलमा हरितगृह गुण भएका कार्बनडाइअक्साइड, मिथेन र बाफ जस्ता ग्यासले सूर्यबाट पृथ्वीमा आएको प्रकाश र ताप (शक्ति, ऊर्जा)लाई छिर्न दिन्छन्, तर फर्केर जाने विकिरणको केही भाग रोक्छन् । विभिन्न प्रक्रियाबाट एक ठाउँबाट अर्को ठाउँमा सर्दै, यो शक्ति एउटा रूपबाट अर्को रूपमा बदलिंदै जान्छ । यो क्रममा जल, स्थल र वायुमण्डलमा रहेका अनेकानेक जीवनका लागि चाहिने तत्वहरू उपलब्ध हुन्छन् । ताप जमीन, वायु र जलमा सञ्चय भई जीवनका लागि चाहिने न्यानो पुग्छ र जीवन्त वातावरण तयार हुन्छ । तिनै तत्व र शक्तिबाट पृथ्वीमा अनगिन्ती जीवनधारा चलिरहेका छन्।

यो प्रणाली करोडौं वर्षदेखि सन्तुलित भएर चलिरहेको छ । तर, पछिल्लो समय मानिसका कारण यो सन्तुलित प्रणाली खलबलिने सँघारमा पुगेको छ। तापक्रम वृद्धिले पृथ्वी संकटोन्मुख छ । थपिएका हरितगृह ग्यासहरूका कारण सूर्यबाट पृथ्वीमा आएको ताप शक्ति सन्तुलित मात्रामा पृथ्वी बाहिर जान पाउँदैन । त्यो थप ताप शक्ति (ऊर्जा) जल, स्थल र वायुमा घुमिरहेको छ ।

जति पनि मौसमी समस्या बढेका छन्, ती सबै यही शक्तिको खेल हो भन्न सकिन्छ । एक आँकडा अनुसार विश्वमा २४ प्रतिशत हृदयरोगबाट हुने मृत्यु र २५ प्रतिशत हृदयघातबाट हुने मृत्युको कारण वायू प्रदुषण हो र प्रदुषणकै कारण हरेक मिनेटमा विश्वका १३ व्यक्तिको मृत्यु हुने गर्दछ ।

कसरी विथोलिन्छ वातावरण सन्तुलन ?

वातावरण सन्तुलन विथोलिने कारण धेरै छन् । विभिन्न देश, समय र परिस्थिति अनुसार फरक–फरक कारणले वातावरण प्रद्ुषण भइरहेको छ । तर वातावरण प्रदुषणका साझा कारणहरु पनि थुप्रै छन् । अत्याधिक जनसंख्या वृद्धि , वातावरण शिक्षाको कमी , जनचेतनाको अभाव , अव्यवस्थित औद्योगीकरण एवं सहरीकरण बढ्दै , वनजंगलको विनाश , विषादी तथा औषधिहरूको अत्याधिक प्रयोग , अवैज्ञानिक कृषि प्रणाली , आणविक हातहतियारको प्रतिस्पर्धा लगायतका कारणहरु छन् ।

वातावरण प्रदुषणका अन्य कारकहरू भनेका जथाभावि फोहोर गर्नु वा व्यवस्थापन नगर्नु, प्लाष्टिकहरुको बढ्दो प्रयोग तथा प्लाष्टिक जन्य वस्तु जलाउनु, पुराना सवारी साधनहरुको प्रयोग, वन जंगलको विनास , वातावरण शिक्षाको कमि तथा जनचेतनामा कमि , आदि हुन् ।
कोइला, डिजेल, पेट्रोल जस्ता खनिज इन्धनको प्रयोगले पृथ्वीको तापक्रम बढाउँछ ।

तापक्रम सन्तुलित राख्न बन जंगलको ज्यादै ठूलो महत्व हुन्छ । वन जंगल फँडानी, वातावरणको अत्यधिक दोहन गर्ने खेती पद्धति, अव्यवस्थित बस्ती विस्तार जस्ता कारणले हरितगृह गुण भएका ग्यासहरूको वृद्धि हुन्छ । यी ग्यासहरूमा ताप सोस्न र सञ्चय गर्न सक्ने क्षमता हुन्छ । यिनले पृथ्वीबाट बाहिर जानुपर्ने अनाबश्यक तापलाई छेकेर वा सोसेर राख्छन् । बढी सञ्चय भएको तापशक्तिका कारण पृथ्वीको वायुमण्डल, जल र स्थलको तापक्रम बढेर विश्व उष्णीकरण प्रक्रियाका कारण जलवायु परिवर्तन गराएको हो ।

वातावरण प्रदुषणबाट उत्पन्न हुने समस्याहरूमा मुख्य रूपमा ओजोन तहको विनाश हुदै जानु, विश्वव्यापी उष्णता वृद्धि हुनु, हरितगृह प्रभाव बढ्नु, बाढी पहिरो, अनावृष्टि, अतिवृष्टि, खण्डवृष्टि, खडेरी र भूक्षय हुदै जानु, अम्लीय वर्षा हुनु, जैविक विविधतामा ह्रास आउनु, कृषि उत्पादनमा ह्रास आउनु, मानवीय स्वास्थ्य समस्या आदि वातावरण प्रदुषणका हुने समस्याहरू रहेका छन् । वायु प्रदुषण,जल प्रदुषण, भूमी प्रदुषण, ध्वनी प्रदुषण, र रासायिनिक प्रदुषण हरूपनि यसका समस्या एवं कारणहरू मानिन्छ ।

हालको दरमा हरितगृह गुण भएका ग्याँस उत्सर्जन भइरहने हो भने सन् २१०० मा पृथ्वीको औसत तापक्रम सन् १८५० तिरको तुलनामा दुई डिग्रीभन्दा बढी हुन सक्ने वैज्ञानिकहरूको ठम्याइ छ । एक डिग्रीको छेउछाउ औसत तापक्रम वृद्धि हुँदा यो दशकमा नै बढ्दो सुक्खा खडेरी, ठूल्ठूला आँधीहुरी, अतिवृष्टि जस्ता घटना हामीले भोग्नै थालिसकेका छौं । तापक्रम दुई डिग्रीभन्दा बढेमा सबैतिर हावापानी हिजोआजभन्दा पनि अस्थिर हुनेछ, कति वेला के हुन्छ भन्न सकिंदैन । समग्र हावापानी बदलिएपछि त्यसको असर हिम प्रणाली, पानीको मुहान, नदीनाला, तालतलैया, वन, वनस्पति, पृथ्वीका समस्त जीवहरूमा पर्नेछ ।

वातावरण प्रदुषणका सबै कारणहरु सबै देश , सबै ठाउँमा एउटै छैनन् । कहीँ बढी छन् , कहीँ कम छन् । तर प्लास्टिक तथा प्लास्टिक जन्य बस्तुको प्रयोग यति व्यापक छ की सायद कुनै व्याक्ति अछुतो छैन । प्लास्टिक तथा प्लास्टिकजन्य बस्तु उत्पादनका क्रममा के कसरी वातावण प्रदु्ुषण हुन्छ ? उत्पादिन प्लास्टिक तथा प्लास्टिकजन्य बस्तुको प्रयोग पछि कुन अनुपातमा वातावरण प्रद्ुषण हुने गर्छ ? भन्ने प्रश्नको उत्तर निकै कहाली लाग्दो छ ।

पेट्रोलियम पदार्थ शुद्धीकरण गरेर डिजेल पेट्रोल निकालिन्छ भने बाँकी सामग्री प्रशोधन गरी आवश्यक आकार र प्रकार दिएर प्लाष्टिकका सामान बनाइन्छ । कति भार धान्न सक्ने, कस्तो रङ दिने र कतिपटक प्रयोग गर्न सकिन्छ भन्ने जस्ता कुरालाई निर्धारण गरी पोलिथिन निर्माण गरिन्छ ।

सामान्य विद्युतीय सामग्री, विभिन्न प्रकारका खेलौना, भाँडाकँुडा, छाता, जुत्ता चप्पल, लुगालगायत प्लाष्टिकका विभिन्न रुपहरु मानव जीवनमा प्रयोग हुन्छन् । पानी तथा ब्याक्टेरियाबाट सुरक्षा हुने, सजिलो र हुलुका हुने भएकोले औषधिजन्य वस्तुको प्याकेजिङदेखि विभिन्न प्रयोजनका वस्तुहरुमा प्लाष्टिकको प्रयोग भएको हुन्छ ।

सही प्रयोग र व्यवस्थापन हुन नसक्दा प्लाष्टिक जल, जमिन, जीवजन्तुदेखि मानव स्वास्थ्यलाई असर पु¥याउने मुख्य कारक बनेको छ । सन् २०१८ मा भारतको आन्ध्र प्रदेशमा केही गाई मरे । उपचारका क्रममा एउटा गाईको पेटबाट ८० किलो प्लाष्टिक निकालियो तर गाई बाँच्न सकेन । नेपालमा पनि नगर क्षेत्रमा खुल्ला छोडिएका जनावरहरुले प्लाष्टिक खाने जोखिम बढेकोे वातावरणविदहरु बताउँछन् ।प्लाष्टिक जलाउँदा कार्बनमोनोअक्साईड, डाइओक्सिन, प्यूरान र बेन्जिन जस्ता हानीकारक ग्यास निस्कन्छ र यसले मानव स्वास्थ्यमा प्रत्यक्ष रुपले असर पु¥याउँछ ।

प्लाष्टिक जलाएर हुने असर एक गाँउ वा ठाँउलाई मात्रै पर्ने होइन, बरु यसले त देशको पनि सीमा नाघेर विश्वव्यापी असर पारिरहेको छ । नेपालका अधिकांश गाउँघरमा दाउरामा छिटो आगो सल्काउन प्लाष्टिक वा पोलिथिनको प्रयोग गरिन्छ । यस्तो गतिविधिले गृहिणी तथा गर्भवती महिला र भान्सामा खटिरहने व्यक्तिको श्वासप्रश्वासमा प्रत्यक्ष असर पारिरहेको छ ।

बैज्ञानिकहरुले विश्वव्यापी संकटका रुपमा बढ्दै गएको जलवायू परिवर्तनका विभिन्न कारकमध्ये एक तत्व प्लाष्टिकलाई मानेका छन् । प्लाष्टिकको आधा आयु नै करिव ५ सयदेखि एक हजार बर्षसम्मको हुने भएकोले जथाभावी फालेका प्लाष्टिक पुस्तौँसम्म थुप्रिएर रहने र पर्यावरणमा खराब असर गर्ने विज्ञहरुको भनाई छ ।

प्रकाश, आर्द्रता, तापक्रम वा सूक्ष्मजीवहरूको सम्पर्कमा पर्दा वातावरणमा हुने ह्रासलाई रोक्नका लागि प्लाष्टिक विभिन्न रसायनहरूको संयोजनबाट बनेको हुन्छ । कुनै पनि रासायनिक प्रशोधन बिना नै प्लाष्टिकका पदार्थहरू विभिन्न परिस्थितिहरूमा सर्न सक्छन् । यो तापक्रम वा प्रकाशमा परिवर्तन जत्तिकै सूक्ष्म हुन सक्छ । यसका कारण विषाक्त तत्व वाष्पीकरण भई हावामा मिसिन्छन् । यो प्रदूषित हावा मानिसले श्वासका रुपमा लिन्छ । साथै, यी कणहरू मानिसको छालामा पनि अवशोषित हुन सक्छ ।

हामीले थाहै नपाई हाम्रो शरीरमा प्लाष्टिक सरिसकेको हुन्छ । जस्तै, प्लाष्टिकको फोहोर जलिरहेको हावामा सास फेर्दा, कडा गन्ध भएको नयाँ प्लाष्टिकको वस्तु खोल्दा, स्टाइरोफोम कपबाट तातो कफी पिउँदा, पानीको बोतल पुनः प्रयोग गर्दा, प्लाष्टिकको कन्टेनरमा माइक्रोवेभ गरिएको खाना खाँदा वा प्लाष्टिकको कन्टेनरमा जमेको वा केही समयको लागि मात्र भण्डारण गरिएको खाना खाँदा पनि प्लाष्टिक सजिलै मानव शरीरमा सर्छ ।

यसबाहेक फोहोर तथा प्लाष्टिकलाई जथाभावी खोलानालामा फाल्ने गर्नाले ती सामग्री विस्तारै समुद्रमा गएर थुप्रिन्छन् । त्यसरी जम्मा हुने प्लाष्टिकलाई हावा र पानीले स–साना टुक्रामा परिणत गरिदिन्छ । तसर्थ, आगामी शताब्दीहरुमा भने ती प्लाष्टिकहरू माइक्रोप्लाष्टिक अर्थात आँखाले देख्न नसकिने सूक्ष्म कणका रुपमा परिवर्तित भई मानव शरीरभित्र पुगेर स्वास्थ्यमा खराब असर पर्छ ।

प्लास्टिक प्रयोगमा नेपाल

विश्वका प्रदुषित शहरमध्ये काठमाडौ पनि एक उच्च प्रदुषित शहर हो । वल्र्ड एयर क्वालिटी इन्डेक्स्ले जैविक सामग्रीहरु खुला रुपमा जलाइनुलाई काठमाडौ प्रदुषित हुनुको एक प्रमूख कारण भनेको छ । मानिसहरुले विश्वमा ९ दशमलव १ अरब टन प्लाष्टिक उत्पादन गरिसकेका छन् र ती प्लाष्टिकले अन्ततः प्राणी र वातावरण दुवैलाई हानि गर्ने अनुसन्धानकर्ताहरु बताउँछन् ।

पर्वतीय विकासको लागि अन्र्तराष्ट्रिय केन्द्र (इसीमोड) २०१८ को तथ्यांकअनुसार काठमाडौँमा मात्र दैनिक ४७ लाखदेखि ४८ लाखसम्म प्लाष्टिकका झोला प्रयोग हुने गरेको छ र त्यसमध्ये १६ प्रतिशत शहरी फोहोरमा प्लाष्टिक रहेको छ । काठमाडौँ उपत्यकामा दैनिक १० लाखभन्दा बढि प्लाष्टिकका झोला एक पटक प्रयोग गरी फालिने गरेको छ । सन् २०२१ को तथ्यांकक अनुसार एक नेपालीले दैनिक ३ सय ५७ ग्राम फोहोर फाल्छन्, जसमा २० प्रतिशत प्लाष्टिक हुन्छ ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का अनुसार वायू प्रदुषणले तत्कालीन र दीर्घकालीन दुवै किसिमका स्वास्थ्य समस्या हुन्छ , श्वासप्रश्वास संक्रमण, मुटु रोग र फोक्सोको क्यान्सर जस्ता स्वास्थ्य समस्याको जोखिम बढ्छ । डब्ल्युएचओका अनुसार विश्वमा २४ प्रतिशत हृदयरोगबाट हुने मृत्यु र २५ प्रतिशत हृदयाघातबाट हुने मृत्युको कारण वायू प्रदुषण हो र प्रदुषणकै कारण हरेक मिनेटमा विश्वका १३ व्यक्तिको मृत्यु हुने डब्ल्युएचओले बताएको छ ।

वातावरण संरक्षण ऐन २०७६ को दफा १५ मा कुनै सवारी साधन, यन्त्र, उपकरण, औधोगिक प्रतिष्ठान, होटेल, रेष्टुरेन्ट वा अन्य स्थान वा मालवस्तु वा कुनै क्रियाकलापबाट हुने प्रदुषण वा जोखिमपूर्ण पदार्थ निष्काशन वा उत्सर्जनबाट हुने असर न्युनिकरण वा निराकरण गर्नका लागि आवश्यक मापदण्ड निर्धारण गर्न सक्ने उल्लेख छ ।

सरकारले २०७२ बैशाख १ गतेबाट लागु हुने गरी काठमाडौँ उपत्यका भित्र २० ईन्च चौडाई र ३५ ईन्च लम्बाई भन्दा सानो र ४० माइक्रोनभन्दा पातलो प्लाष्टिक झोलाको उत्पादन, भण्डारण, विक्री वितरण र प्रयोगमा प्रतिबन्ध लगाएको थियो तर उक्त प्रतिवन्ध बिनाशकारी भुकम्पको कारणका नाममा सरकारले कार्यान्वयन गर्न सकेन ।

यस्तै, वातावरण तथा मानव स्वास्थ्यमा पर्ने जोखिम न्यूनीकरणका लागि सरकारले आर्थिक वर्ष २०७८÷०७९ को आय–व्ययको सार्वजनिक वक्तव्यमा ४० माइक्रोनभन्दा पातलो प्लाष्टिकको उत्पादन, आयात, बिक्री वितरण र प्रयोगमा २०७८ श्रावण १ गतेदेखि पूर्णरुपमा प्रतिबन्ध लगाउने नीतिगत उदघोष ग¥यो । फेरि पनि सरकारको घोषणाको प्रभावकारी कार्यान्वयन भएन ।

सर्वोच्च अदालतबाट समेत २०७८ श्रावण २८ गते नेपाल सरकारले घोषणा गरेको प्रतिबन्धलाई प्रभावकारी रुपमा पालना गराउन कार्यान्वयनयोग्य कार्ययोजना तयार गरी प्लाष्टिक झोलाको उत्पादन, आयात, विक्रि वितरण र प्रयोगमा देशभर प्रतिबन्ध लगाउन सरकारका नाममा आदेश भयो । सो आदेशलाई कार्यान्वयन गर्न सरकारले प्लाष्टिक झोला प्रतिवन्ध सम्बन्धी कार्ययोजना, २०७८ समेत स्वीकृत गरेकोे छ ।

प्रदेश र स्थानीय तहमा समेत कार्ययोजना लागू गर्ने गरी नेपालभर मापदण्डभन्दा पातला प्लाष्टिक झोला उत्पादनमा पूर्ण प्रतिबन्ध लगाउने, उद्योगको नियमित अनुगमन, ४० माइक्रोनभन्दा बाक्लो झोलाको उत्पादन गर्न उद्योगलाई अनुदान दिने कार्यविधि स्वीकृतिदेखि वैकल्पिक झोला उत्पादन, प्रयोगलगायतमा जोड दिइएको छ ।

नेपाल सरकारसँग देशमा प्लाष्टिक उत्पादक उद्योग कति छन् भन्ने एकिन तथ्याङक छैन । एक वर्ष अघि बालाजु औद्योगिक क्षेत्रको अनुगमनका क्रममा २० माइक्रोनभन्दा पनि पातलो प्लाष्टिक उत्पादन गरेको फेला परेको थियो ।

प्लाष्टिकलाई पूर्ण रूपमा नष्ट गर्न सकिँदैन । जलायौं भने यसले धेरै वायु प्रदूषण निम्त्याउँछ जुन मानव स्वास्थ्य र समग्र वातावरणको लागि असाध्यै हानिकारक छ । त्यसैले प्लाष्टिकको सही प्रयोग र व्यवस्थापनको विकल्प छैन । तर, कसरी ? समान्य नागरिकले प्लाष्टिक के हो चिन्नुुपर्छ, बुझ्नपर्छ, यसलाई के गर्दा हानिकारक हुन्छ, थाहा पाउनु पर्छ ।

घरघरका प्लाष्टिकजन्य वस्तु अर्थात फोहोर छुट्याएर राख्नुपर्छ । यस्तो ज्ञानका लागि प्लाष्टिक र वातावरणसम्वन्धी विषयलाई विद्यालय तहबाटै अध्ययन अध्यापनमा प्राथमिकता दिन सकिन्छ । प्लाष्टिक जलाउनु वा फाल्नुको सट्टा, त्यसलाई विभिन्न तरिकाले पुनः प्रयोग गर्न सकिन्छ । पुन प्रयोग गर्ने हो भने पनि उत्पादन र आपूर्ति स्वतः घट्छ । हामी प्लाष्टिकजन्य खतराबाट जोगिन सक्छौं ।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.