६१ सहसचिवको सरुवा

रिपोर्ट नेपाल | 2023 Feb 25 | 07:28 am 925

काठमाडौं, फागुन १३ः  सरकारको ध्यान कर्मचारी सरुवामा बढी केन्द्रित हुन थालेको छ । पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार बनेको दुई महिनाभित्रै सचिव, सहसचिव, उपसचिव गरी सयौं कर्मचारीको सरुवा भइसकेको छ । सरकारले शुक्रबार मात्रै ६१ जना सहसचिवको सरुवा गरेको छ । यसअघि दर्जनौं संख्यामा सचिवको सरुवा भएको थियो भने ठूलो संख्यामा सहसचिव र उपसचिवको पनि सरुवा हुने क्रम जारी रहँदै आएको छ ।

सरुवामा प्रधानमन्त्री दाहाल र उनको सचिवालयका सदस्यको बढी रुचि देखिने गरेको बताइएको छ । शुक्रबार सहसचिवको सरुवामा पनि प्रधानमन्त्रीले बढी चासो देखाएका थिए । यो सरुवामा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीको पनि बढी हस्तक्षेप रहेको मन्त्रालय स्रोतको दाबी छ ।

मन्त्रालयले एकसाता अघि नै सहसचिवको सरुवा सूची तयार पारे पनि प्रधानमन्त्री दाहालले हस्तक्षेप गरेपछि सरुवाको निर्णय हुन ढिलाइ भएको थियो ।

सरकारले शुक्रबार गरेको सरुवाअनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहसचिव श्यामप्रसाद भण्डारीलाई प्रदेश १ को आर्थिक मामिला तथा योजना मन्त्रालयमा, प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव शिवकुमार कार्कीलाई लुम्बिनी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा रहेका चण्डीप्रसाद घिमिरेलाई मुस्लिम आयोगमा सरुवा गरिएको छ ।

यसैगरी प्रदेश १ का जयकुमार घिमिरेलाई गृह मन्त्रालयमा, संघीय मामिलाका हेमन्तराज निरौलालाई मधेस प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा, धरान उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उद्धवप्रसाद रिजाललाई प्रदेश नीति तथा योजना आयोगमा, गृह मन्त्रालयका उमेशकुमार ढकाललाई मधेस प्रदेशको गृह तथा सञ्चार मन्त्रालयको सचिवमा, सो ठाउँका रामकुमार महतोलाई गृह मन्त्रालयमा, गृह मन्त्रालयका गोविन्दप्रसाद रिजाललाई बाग्मती प्रदेशको पर्यटन मन्त्रालयमा सरुवा, रामकृष्ण अधिकारीलाई गृह मन्त्रालयमा, प्रदेश लोकसेवा गण्डकीका विनोदबहादुर कुँवरलाई गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा भएको छ । राजधानी दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.