तेह्रथुम, फागुन १२ः तेह्रथुमको आठराई ६ चुहानडाँडास्थित हातिखर्कमा भएको आगलागीका कारण १४ घर जलेर नष्ट भएकाे छ । उक्त आगो तत्काल नियन्त्रण गर्न नसकिने गाउँपालिकाका अध्यक्ष दिलकुमार पाहिमले बताएका छन् ।
अहिलेसम्म १४ घर जलेको जानकारी दिँदै उनले त्योभन्दा धेरै क्षति हुन नदिनका लागि दुईवटा दमकलसहित तयारी अवस्थामा आफूहरु रहेको जानकारी दिए ।‘आगो अझै नियन्त्रण बाहिर छ, हामी पनि घटनास्थलमै छौं, सुख्खाग्रस्त क्षेत्र भएको कारण आगो निभाउन कठिन भएको छ,’ उनले भने, ‘अर्को ठूलो बस्तीमा आगालागीलाई जान नदिन दुईवटा दमकलसहित हामी तयारी अवस्थामा छौं ।’
आगलागी नियन्त्रणका लागि सशस्त्र प्रहरी, जनपथ प्रहरी, पालिकाको टोलीसहित घटनास्थलमा रहेको उनले बताए ।
दिउँसोबाटै नजिकैको जङ्गलमा लागेको डढेलो गाउँमा पसेको हो । सो वडाका वडाध्यक्ष कृष्ण बास्कोटाले झाडीजंगल धेरै रहेको हुँदा आगो नियन्त्रणमा कठिनाइ भएको बताए ।