जनकपुरधाम, फागुन १२ः चुरे तथा वनजंगल संरक्षण अभियानीले आजबाट पुनः आन्दोलन थालेका छन् । पाँच सूत्रीय मागसहित बिहीबार मुख्यमन्त्री कार्यालय घेराउ गर्दै पुनः आन्दोलन थालेका हुन् ।
चुरे र वन संरक्षणको माग गर्दै सयौँको सङ्ख्यामा रहेका आन्दोलनकर्ताहरू जनकपुरधामको मुरली चोकबाट प्रदर्शन गर्दै मुख्यमन्त्री कार्यालय घेर्न पुगेका थिए । खोला उत्खननको विरोध गर्दा हत्या गरिएका युवा दिलीप महतोलाई पर्यावरणीय शहीद घोषणा गर्नुपर्ने, अवैध क्रसर उद्योगहरूको गतिविधि उपर तत्काल रोक लगाउनु पर्ने, विगतमा मधेस सरकारले गरेको ७ बुँदे सहमति तत्काल कार्यान्वयन गर्नु पर्ने, भूमिहीन तथा सुकुम्वासीको आवासको व्यवस्था गर्नुपर्ने, वैदेशिक रोजगार सम्बन्धी समस्या हल गर्नु पर्ने लगायतको माग राख्दै पुन आन्दोलन थालेकोको अभियानको राष्ट्रिय संयोजक सुनिलकुमार यादवले भने । उनले पटक–पटक आन्दोलन गर्दा पनि माग पूरा नभएकाले बाध्य भएर पुनः धर्ना सुरु गरेको बताए ।
मागप्रति सङ्घ प्रदेश र स्थानीय तथा सम्बन्धित निकाय उदासीन रहेकाले अब आन्दोलन निष्कर्षमा नपुगेसम्म नरोकिने अभियानका संरक्षक सरोज यादवले जानकारी दिए । गाेरखापत्र अनलाइनबाट