७१ लाख ८० हजार रकमसहित पटके हुण्डी कारोबारी पक्राउ

रिपोर्ट नेपाल | 2023 Feb 23 | 08:48 am 1045

काठमाडाैं, फागुन ११ः ७१ लाख ८० हजार रकमसहित पटके हुण्डी कारोबारीलाई प्रहरीले पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा भारत हिमाञ्चल प्रदेश सिमलाथाना घर भई हाल काठमाडाैं महानगरपालिका वडा नं. १४ कुलेश्वर बस्ने माँ चामुण्डा फ्रुट सेन्टरका सञ्चालक वर्ष ४९ का विजय कुमार गुप्ता रहेका छन् ।

काठमाडाैंको कुलेश्वर एरियामा केहि व्यक्तिले नेपाल राष्ट्र बैकले जारी गरेको आदेश/निर्देशन विपरीत हुने गरी ईजाजतपत्र नलिई बित्तिय कारोवार (हुण्डी) गर्दै आएको भन्ने गोप्य सूचनाका आधारमा खटि गएको प्रहरीकाे विशेष टोलीले नेपाल राष्ट्र बैंकबाट ईजाजतपत्र नलिई बित्तिय कारोवार गर्ने कार्यमा संलग्नहरुको निग्रानी राखी खोजतलास गर्ने क्रममा मिति २०७९।११।०८ कुलेश्वर स्थितबाट उनलाई पक्राउ गरिएकाे हाे ।

हुण्डी गर्ने प्रयोजनको लागि संकलन गरेको नगद रु. ५७ लाख रकम र रु. १४ लाख ८० हजार रकम बराबरको ३ थान चेक गरी जम्मा रु ७१ लाख ८० हजार सहित तत्काल पक्राउ गरी नेपाल राष्ट्र बैक ऐन २०५८ को दफा ९५ बमोजिम आवाश्यक कारवाहीका लागि जिल्ला प्रहरी परिसर टेकु, काठमाण्डौ पठाईएको प्रहरी उपरीक्षक सोमेन्द्र राठौंरले बताए ।

अनुसन्धानबाट खुल्न आएका कुराहरु:
१. पक्राउ परेका निज व्यक्तिले फलफूल व्यवसायको आवरणमा विगत लामो समयदेखि अवैध हुण्डीको कारोबार गर्दै आएको खुलेको ।
२. निज व्यक्तिलाई यस अघि पनि मिति २०७५।०४।०७ गते भारतीय रुपैया २ लाख र ने.रु. ३१ लाख रकम सहित यसै कार्यालयबाट पक्राउ गरि राजस्व छली सम्बन्धि कसुरमा राजस्व अनुसन्धान विभाग पुल्चोक पठाइएको खुल्न आएको ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.