हुम्लाका २६ कार्यालय प्रमुखविहीन

| 2023 Feb 19 | 07:43 am 1393

हुम्ला, फागुन ७ः हुम्लामा अधिकांश सरकारी कार्यालय प्रमुखविहीन रहेको पाइएको छ । हिउँदयाम हुम्लामा स्थानीय तह, संघ र प्रदेशका कार्यालयमा कार्यालय प्रमुख नै जिल्ला बाहिर बसेका छन् ।

सेवाकालीन तथा अन्य तालिम तथा गोष्ठी, माथिल्लो तहको परीक्षा र घरायसी काम विशेष कारण देखाउँदै कार्यालय प्रमुखहरू जिल्ला बाहिर गएपछि सरकारी कार्यालय प्रमुखविहीन भएका हुन् ।

सहायक प्रमुख जिल्ला अधिकारी अमृतकुमार सुवेदीले जिल्लामा स्थानीय तहका कार्यालयबाहेक ३८ वटा कार्यालय रहेको बताए। तर, अहिले १२ वटा कार्यालयमा प्रमुख रहेको तथा बाँकी २६ वटा कार्यालय प्रमुख जिल्ला बाहिर गएको उनले जानकारी दिए ।

कार्यालय प्रमुख नभएर निमित्तका भरमा सञ्चालन हुँदै आएका कार्यालयमा स्वास्थ्य सेवा कार्यालय, सरकारी वकिल कार्यालय, परियोजना कार्यान्वयन एकाइ, स्याउ जोन, कोष तथा लेखा नियन्त्रण कार्यालय, खानेपानी, जिल्ला निर्वाचन, नापी, डिभिजन वन, प्रदेश लेखा एकाइ, सामाजिक विकास कार्यालय छन् ।

अन्य कार्यालय प्रमुख नभएका कार्यालयमा अध्यागमन, यारी नाका भन्सार, उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय, राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड सिमकोट शाखा, हिल्सा सिमकोट सडक आयोजना, नेपाल टेलिकम, नागरिक उड्डयन प्राधिकरण, हुलाक, जिल्ला प्रशासन, हुम्ला जिल्ला अदालत, सशस्त्र प्रहरी बल ४४ नम्बर गुल्म, आयुर्वेद स्वास्थ्य केन्द्र छन् ।

केही कार्यालय प्रमुख डेढ महिनादेखि जिल्ला बाहिर रहँदै आएको, केही तालिम गोष्ठीमा सहभागिता जनाउन गए पनि हालसम्म फिर्ता भएको देखिएको छैन । प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेल र जिल्ला न्यायाधीश दिलप्रसाद शर्मा शोकमा परेका कारण जिल्लाबाहिर रहेका हो भने सशस्त्र प्रहरी नायव उपरीक्षक शंकरमान धामी तालिमका कारण बिहीबार सुर्खेत झरेका हुन् ।

जिल्लाका अधिकांश विकासे कार्यालय प्रमुख रहेका कारण विकास निर्माणमा समेत बाधा पुगेको तथा छिटोभन्दा छिटो जिल्ला भित्रिन निर्देशन दिएको उनले बताए।

सरकारी कार्यालयका कर्मचारीले जिल्ला बाहिर कार्यालयको कामको सिलसिला वा घरबिदामा जाँदा जिल्ला प्रशासन कार्यालयको अनुमति लिनुपर्ने व्यवस्था छ । तर, हिउँदे समयमा कार्यालयमा नबस्ने पुरानै परम्परा रहेको छ । नेपाल समाचारपत्रबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.