काठमाडाैं, फागुन ५ः झुट्ठा बहाना बनाई अनलाईन मार्फत ठगी गर्ने कार्यमा संलग्न दुई महिलालाई प्रहरीले पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा झापा भद्रपुर नगरपलिका वडा नं.१० चन्द्रगढी लेखनाथचोक घर भइ हाल कामनपा-२२ खिंचापोखरी बस्ने ३२ बर्षी दिपाञ्जली थापा भन्ने उषा कार्कि र चितवन कालिका नगरपालिका वडा नं. -४ घर भइ हाल कामनपा-२२ खिंचापोखरी बस्ने २० बर्षीय निकिता सुवेदी रहेकी छन्।
पीडितको मोबाईल नम्बरमा फोन सम्पर्क गरी उच्च पदस्थ कर्मचारीको छोरी हुँ, काठमाण्डौंको बाँसबारीमा घर छ, यूनिभर्सिटिबाट MBBS Toper डाक्टर हुँ, हाल बिद्यालय सम्बन्धी शैक्षिक कार्यक्रम लगायत बिद्यार्थीहरुलाई खेलकुद सामाग्री वितरण गर्ने काम गर्छु भनी पीडितसंग झुट्ठा बहाना बनाई प्रपञ्च मिलाई नजिकको साथी बनी पिडितलाई ईसेवा वालेटमा रकम पठाउन लगाई अनलाईन मार्फत ठगी गरेको भन्ने जाहेरी दरखास्त यस कार्यालयमा पर्न आएको थियाे ।
अनलाईन मार्फत ठगी गर्ने कार्यमा संलग्न ब्यक्तिहरुको खोजतलास गर्दै जाने क्रममा उनीहरूलाई फेला पारी नियन्त्रणमा लिई पक्राउ गरी निजहरुलाई ठगी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान एवं कारवाहीको लागि आज शुक्रबार जिल्ला प्रहरी परिसर टेकु, काठमाण्डौंमा पठाईएको प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले बताए ।