जाजरकोट, फागुन ४ः जाजरकोटका सात वटै पालिकाका ७७ वडाध्यक्षहरूका लागि क्षमता विकास तालिम सञ्चालन गरिएको छ । कर्णाली प्रदेश मुख्यमन्त्री कार्यालय अन्तर्गत प्रदेश सुशासन केन्द्रको समन्वय र जिल्ला समन्वय समिति जाजरकोटको आयोजनामा समन्वयको हलमा दुई दिने क्षमता विकास तालिम सञ्चालन गरिएको हो ।
स्थानीय तहको काम, कर्तव्य, अधिकार, वडा समितिको क्षेत्राधिकार, वडाध्यक्ष र वडाका पदाधिकारीहरूको काम कर्तव्यका विषयमा वडाध्यक्षहरूको क्षमता विकास तालिमको आयोजना गरिएको हो । जिल्ला समन्वय समिति जाजरकोटका सदस्य खडक बिसीले तालिममा वडाले गर्ने कामहरूका विषयमा महत्त्वपूर्ण छलफल भइरहेको जानकारी दिए।
तालिममा वडा समितिले गर्ने सिफारिस तथा प्रमाणित, योजना अनुगमन तथा मुल्यांकल, व्यक्तिगत घटना दर्ता प्रक्रिया र प्रतिवेदनका विषयमा तालिममा वडाध्यक्षलाई अभिमुखीकरण दिइएको छ ।
मुख्यमन्त्री कार्यालयका शाखा अधिकृत युवराज न्यौपाने, प्रमुख जिल्ला अधिकारी अञ्जन न्यौपाने, प्रहरी प्रमुख सन्तोष रोकाले सहजीकरण गरिरहेहका छन् । भेरी नगरपालिका ४ का वडा अध्यक्ष वसन्त प्रसाद शर्माले तालिमले सबै आवश्यक ऐन कानुन तथा कार्य प्रक्रियामा महत्त्वपूर्ण भूमिका खेल्ने बताए । गाेरखापत्र दैनिकबाट