काठमाडौं, फागुन २ः नेपाली कांग्रेस गुल्मी २ का महाधिवेशन प्रतिनिधि एवं अर्लाङकोट गाविसका पूर्व उपाध्यक्ष कृष्ण प्रसाद सापकोटाले आगामी फागुन ९ गते देखि सुरु हुने धनधान्याचल सप्ताह ज्ञान महायज्ञमा सरिक हुन देश बिदेशमा भएका नगर बासीलाई आग्रह गरेका छन् ।
सोमबार एक विज्ञप्ति जारी गर्दै कांग्रेस नेता सापकोटाले ज्ञानज्योती आधारभुत विद्यालय अर्लाङकोटको स्तरबृद्धी गरी माध्यमिक तहको कक्षा संचालनार्थ आयोजित महायज्ञमा तन, मन र धनले सहयोग गर्न आग्रह गरेका छन् ।
शिक्षाको ज्योति फैलाउने पवित्र उद्देश्यले आयोजित महायज्ञमा सम्पूर्ण गुल्मी र बागलुङबासीलाई उपस्थित हुन सापकोटाले विशेष आग्रह गरेका छन् । विद्यालयको रजत महोत्सवको अवसर पारेर आयोजना गरिएको महायज्ञमा रजत जयन्ती महोत्सवका प्रधान संरक्षक १००८ स्वामी परमानन्द सरस्वती महाराज र दुर्गावैदीक परमानन्द सन्यास आश्रम नयाँमिल रुपन्देहीका प्रमुख आश्रमाधिपति १००८ स्वामी विवेकानन्द सरस्वती महाराजको विशेष उपस्थिति रहने छ ।
कथाकार चेतराज कडेलको प्रमुख वाचकत्व र पूर्णभद्र गौतमको यज्ञाचार्यत्वमा महायज्ञ संचालन हुने जनाइएको छ । फागुन ९ देखि १६ गतेसम्म महायज्ञ अर्लाङकोटमा संचालन हुने छ ।